गीत–संगीत राष्ट्रिय पहिचान र एकताको बलियो आधार होः राष्ट्रपति पौडेल

.

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली गीत–संगीत राष्ट्रिय पहिचान, साझा सम्पती र राष्ट्रिय एकताको बलियो आधार भएको बताउनुभएको छ ।
नातिकाजी स्मृति समाजद्वारा आयोजित ‘नातिकाजी राष्ट्रिय पुरस्कार तथा सम्मान अर्पण समारोह’लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला र संस्कृतिले नै देशलाई भावनात्मक रूपमा जोड्ने उल्लेख गर्नुभएको हो । स्वर्गीय नातिकाजी श्रेष्ठको योगदानको स्मरण गर्दै राष्ट्रपति पौडेलले नेपाली संगीतको विकासमा उहाँको भुमिका अनुकरणीय रहेको बताउनु भयो । नातिकाजीका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउनुका साथै नेपाली सैनिक संगीतको गौरव समेत बढाएको उहाँको भनाइ छ । राष्ट्रपति पौडेलले नेपाली संगीतको उत्थानका लागि परम्परा र आधुनिकताबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । परम्परागत धुन र शैलीलाई जोगाउँदै नवीन प्रविधिको प्रयोगमार्फत नयाँ सिर्जना गर्नु वर्तमान पुस्ताका लागि चुनौती र अवसर दुवै रहेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली लोक भाकालाई पछ्याउँदै आधुनिक गीत–संगीतको सिर्जनामा नातिकाजीले पु¥याउनुभएको योगदान अतुलनीय छ । उहाँका सिर्जनामा पाइने चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाले उहाँलाई संगीतप्रेमीहरूका माझ सधैँ अमर बनाइराख्नेछ । साहित्य, कला र संगीतले समाजमा आपसी प्रेम, मित्रता र भ्रातृत्व अभिवृद्धि गरी राष्ट्रिय एकतालाई मजबुत बनाउँछन् । कलाकार र उनीहरूका सिर्जना राष्ट्रका अमूल्य निधि हुन् ।श्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीत–संगीतको विकासका लागि सरकार र संवद्ध पक्षले सदैव सहयोग पु¥याउनुपर्छ ।’
नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतालाई एकताको सूत्रमा बाँध्न संगीतको शक्ति अपार रहेको बताउनु भयो । सभ्य र सुसंस्कृत समाज निर्माणका लागि राज्यले सर्जकहरूको सम्मान र हितमा कन्जुस्याइँ गर्न नहुने धारणा पनि उहाँले व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल