मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मंगलवार भएको मतदानमा मुख्यमन्त्री यादवको पक्षमा ६२ मत परेको छ भने विपक्षमा ३६ मत दर्ता भएको छ । सत्ता साझेदार दल जनमत पार्टीले गत वैशाख २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुभएको हो । यसअघि गत जेठ १ गते नै विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको थियो । तर सत्तारुढ नेपाली काँग्रेसभित्रै चुलिएको आन्तरिक असन्तुष्टि र ‘फ्लोर क्रस’ हुन सक्ने जोखिमका कारण अन्तिम समयमा आएर मुख्यमन्त्री यादव पछि हट्नुभएको थियो । आन्तरिक समीकरण मिलाएपछि मात्र उहाँले आज सदनबाट विश्वासको मत लिनुभएको हो । –न्युज एजेन्सी नेपाल