यो राजनीतिक तिक्तता बढाउने समय होइनः संयोजक दाहाल

.

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सुनसरीमा पछिल्लो समय विकसित परिस्थितिलाई लिएर चिन्ता व्यक्त गर्नुभएको छ ।
बुधवार सिंहदरबारमा जारी सर्वदलीय बैठकमा आफ्नो धारणा राख्दै उहाँले यस्तो संवेदनशील घडीमा सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव एवं आपसी विश्वास कायम राख्न आह्वान गर्नुभएको हो । अध्यक्ष दाहालले विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद् र संविधान निर्माणका जटिल चरणहरूमा राजनीतिक दलहरूले देखाएको साझा सहमति र राष्ट्रिय एकताको स्मरण गर्नुभयो । वर्तमान समयमा पनि सोही स्तरको राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीवोध आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले राष्ट्रिय महत्वका संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले साझा समाधान पहिल्याउन नसकेको भन्दै प्रश्नसमेत उठाउनु भयो । यद्यपि, समसामयिक विषयमा छलफलका लागि बैठक आह्वान गरेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिनुभयो । परिस्थितिलाई सहज बनाउन सरकार थप जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले कुनैपनि समस्याको दीर्घकालीन समाधान बल प्रयोगबाट सम्भव नहुने उल्लेख गर्दै संवाद र राजनीतिक समझदारी नै उत्तम विकल्प भएको बताउनु भयो । नेकपाले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक निर्देशन दिइसकेको जानकारी गराउँदै उहाँले घटनास्थलमा वाह्य तत्वहरूले वातावरण भड्काउन सक्ने भएकाले उच्च शतर्कता अपनाउन आग्रह गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘सुनसरीमा देखिएको तनावप्रति हामी गम्भीर चिन्ता व्यक्त गर्दछौँ। यस्तो संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्छ । भूकम्प, बाढी–पहिरो तथा संविधान निर्माणजस्ता कठिन समयमा राजनीतिक दलहरूले राष्ट्रिय एकता र सहकार्यको उदाहरण प्रश्तुत गरेका थिए । आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक छ । यस सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूले बैठक बोलाउनुभएकोमा धन्यवाद व्यक्त गर्दछु । यस्तो अवस्थामा सरकारले अझ जिम्मेवार, सक्रिय र संवेदनशील भूमिका निर्वाह गर्नुपर्छ । प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद र सहमतिका लागि पहल गरी सबै राजनीतिक दललाई विश्वासमा लिनुपर्छ । संसद्भित्र पनि सरकारको भूमिका अपेक्षाअनुसार प्रभावकारी देखिएको छैन । बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन सक्दैन । संवाद, सहमति र राजनीतिक समझदारीबाटै परिस्थितिलाई सहज बनाउन सकिन्छ । हाम्रो पार्टीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ र सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक निर्देशनसमेत दिएको छ । साथै, घटनास्थलमा बाहिरी रूपमा वातावरण भड्काउने तत्व सक्रिय हुनसक्ने भएकाले सबै पक्ष उच्च शतर्क रहन आवश्यक छ । यो राजनीतिक तिक्तता बढाउने होइन, राष्ट्रिय जिम्मेवारी निर्वाह गर्ने समय हो । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनबमोजिम कारबाही हुनुपर्छ। सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्षले सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकतावद्ध रूपमा अघि बढ्नुपर्छ ।’
संयोजक दाहालले अहिलेको समय राजनीतिक तिक्तता बढाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने बेला भएको उल्लेख गर्नुभयो । उहाँले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न माग गर्दै सम्पूर्ण राजनीतिक दल, सरकार र सरोकारवालाहरूलाई सामाजिक सद्भाव र शान्तिका लागि एकजुट हुन अपिल गर्नुभयो । –न्युज एजेन्सी नेपाल