नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ तुल्याउन र सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बुधवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सुनसरीमा दुई धार्मिक समूहबिच विवाद भएसँगै प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो । महासचिव पोखरेलले पछिल्लो परिस्थितिलाई दृष्टिगत गरी आयोजना गरिएको सर्वदलीय बैठकलाई सकारात्मक रूपमा लिँदै यसको नेतृत्व स्वयं प्रधानमन्त्रीले लिनुपर्नेमा जोड दिनुभयो । सरकार र प्रधानमन्त्रीका तर्फबाट हुनुपर्ने पहलकदमीमा कमी देखिएको टिप्पणी गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रसरतामा भएको छलफलमार्फत शान्ति, सद्भाव र सहिष्णुताका लागि संयुक्त विज्ञप्ति जारी गरिएको जानकारी दिनुभयो । सुरक्षा निकायको कार्यसम्पादनमाथि चर्चा गर्दै महासचिव पोखरेलले दङ्गा र भीड नियन्त्रणका सन्दर्भमा सुरक्षा संयन्त्रहरू किन प्रभावकारी हुन सकिरहेका छैनन् भन्ने विषयमा गहिरो समीक्षा आवश्यक रहेको बताउनु भयो ।
उहाँले कुनैपनि प्रकारको भ्रममा नपरी सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्न सबै राजनीतिक दल, सामाजिक संघसंस्था तथा धार्मिक व्यक्तित्वहरूलाई अपिल समेत गर्नुभयो । विशेषगरी सुनसरीलगायतका प्रभावित क्षेत्रका जनसमुदायलाई सरकारले अभिभावकत्वको प्रत्यक्ष अनुभूति दिलाउनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सुरक्षा निकायको मनोबल गिरेका कारण वा साधन–स्रोतको अभावमा यस्ता घटना भएका हुन्, त्यसको सूक्ष्म अध्ययन हुनुपर्छ । भविष्यमा मानवीय क्षति नहुने गरी भीड व्यवस्थापन गर्न सुरक्षा निकायको सामथ्र्य र क्षमता विकास गर्नु आजको अनिवार्य आवश्यकता हो ।’
नागरिकको सुरक्षालाई साझा जिम्मेवारीको रूपमा अथ्र्याउँदै महासचिव पोखरेलले मुलुकमा शान्ति र सद्भाव कायम गर्न सबै पक्षबाट सकारात्मक योगदानको अपेक्षा गर्नुभयो । न्यायको पर्खाइमा रहेका नागरिकका पक्षमा राजनीतिक दलहरू दृढतापूर्वक उभिएको उल्लेख गर्दै उहाँले कसैले पनि असुरक्षित महशुस गर्न नहुने वातावरण निर्माणमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल