कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न सक्दैनः सञ्चारमन्त्री

.

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताउनुभएको छ ।
आईतवार नेपाल पत्रकार महासंघले ललितपुरमा आयोजना गरेको बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानून र जिम्मेदवार पत्रकारिता विषयक कार्यक्रममा बोल्दै उहाँले सरकार प्रेस स्वतन्त्रताको संकुचन गर्नेतर्फ नलागेको स्पष्ट पार्नुभएको हो । उहाँले सरकारलाई लोकतन्त्रको आधारस्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी रहेको बताउनु भयो । सरकारले संवैधानिक हक–अधिकार नदिएको वा त्यसको कार्यान्वयनमा बाधा पु¥याएको हो भने त्यसका लागि देशभित्र विभिन्न संवैधानिक तथा कानूनी व्यवस्था रहेको जिकिर गर्नुभयो । कुनै विषयमा संवाद गर्न आवश्यक भए सरकार पत्रकारहरुसँग छलफल गर्न तयार रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ यो सरकारले प्रेस स्वतन्त्रता सङ्कुचन गर्न लागेको जस्तो संकेत उहाँहरूले गरेको मैले पाएँ । त्यस विषयमा चिन्तित नहुन सम्पूर्ण पत्रकार मित्रहरूलाई अनुरोध गर्न चाहन्छु ।  हामीलाई लोकतन्त्रको आधारस्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी छ । आज मूल प्रश्न प्रेस स्वतन्त्रता हुने कि नहुने भन्ने होइन । कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न सक्दैन । तपाईंहरूले नै भनिरहनुभएको छ, यो संवैधानिक अधिकार हो । फेरि तपाईंहरू नै सरकारले प्रेस स्वतन्त्रता दिएन भन्नुहुन्छ । यदि सरकारले संवैधानिक हक–अधिकार नदिएको वा त्यसको कार्यान्वयनमा बाधा पु¥याएको हो भने त्यसका लागि देशभित्र विभिन्न संवैधानिक तथा कानूनी व्यवस्था छन् । तर सञ्चार मन्त्रालयको तर्फबाट म पूर्ण प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । कुनै विषयमा संवाद गर्न आवश्यक छ भने हामी बसेर छलफल गर्न तयार छौँ । कहिलेकाहीँ कतिपय विषय व्याख्या र न्यारेटिभका कारण फरक ढङ्गले बुझिन सक्छन् । कुनै विषयलाई कसैले प्रेस स्वतन्त्रताको हनन भएको ठान्नसक्छ भने अर्काले त्यो प्रेस स्वतन्त्रता हननको विषय होइन भन्न पनि सक्छ । त्यस्ता विषय छन् भने बसेर सल्लाह र छलफल गर्न सकिन्छ । त्यसैले आजको मूल प्रश्न प्रेस स्वतन्त्रता छ कि छैन भन्ने होइन । हामी यस्तो अवस्थामा छौँ, जहाँ कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न सक्दैन । तर मेरो विचारमा यहाँ सबैको हितका लागि मूलभूत प्रश्न सरकार जिम्मेवार हुनुपर्छ भन्ने हो । यस विषयमा कुनै विवाद छैन । सरकार जिम्मेवार हुनैपर्छ । यदि सरकार कतै गैरजिम्मेवार भएको छ भने त्यसबारे प्रश्न उठाउनु पत्रकारहरूको सबैभन्दा ठूलो दायित्व हो । त्यसमा कुनै शङ्का छैन ।’
मन्त्री तिमिल्सिनाले सरकार गैरजिम्मेवार बने त्यसबारे प्रश्न उठाउनु पत्रकारको सबैभन्दा ठूलो दायित्व भएको जिकिर गर्नुभयो । –न्युज एजेन्सी नेपाल