काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले नक्कली भुटानी शरणार्थी प्रकरणको फाईल विदेशी चासोका कारण मात्रै खोलिएको हो कि भन्ने आशंका व्यक्त गरेका छन् ।
राप्रपाले बिहीवार वसन्तपुरमा आयोजना गरेको भ्रष्टाचारविरोधी सभामा उनले शरणार्थी प्रकरणको फाईल अन्य देशसँग जोडिएको कारण बाहिर आएको हो कि होईन भन्ने कुरा केही समयमै स्पष्ट हुने भन्दै यदि होईन भने क्याटोनमेन्ट घोटालाको फाईल खुल्छ कि खुल्दैन् भन्दै प्रश्न गरेका छन् ।
उनले भने ‘ नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीले सबैको फाइल खोल्नुपर्छ भनेका छन् । साच्चीकै भ्रष्टाचारका विषयमा फाईल खोल्ने हो भने यस्तो प्रकरणको फाइलहरु धेरै छन् आउँदो हप्तामा त्यो फाइल खुल्छ कि खुल्दैन त्यसको आधारमा तपाईहरुको मूल्यांकन हुने छ । यो प्रकरण अन्य देशसँग पनि जोडिएको कारण यो मानवता विरुद्धको अपराध हो, विदेशी चासोका कारण मात्रै यो फाइल खोलेको हो कि होईन केही समयमै प्रष्ट हुन्छ । यदि होईन भने क्याटोनमेन्ट घोटालाको फाईल खुल्छ कि खुल्दैन् । ३३ किलो सुनको, बालमन्दिरको फाइल खुल्छ कि खुल्दैन् । महरा प्रकरणको खुल्छ कि खुल्दैन् । ’
मिश्रले प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्न गर्दै तपाईहरु पदमा नहुदाँ घर कसरी चल्यो त्यो जान्ने अधिकार जनतासँग भएको भन्दै मन्त्री र सांसद हुदाँको तलबले सबै गर्न नपुग्ने हो भन्दै प्रश्न पनि गरे ।
उनले भने, प्रधानमन्त्री कति पटक प्रधानमन्त्री हुनुभयो र कति महिना हुनुभयो तपाईले प्रधानमन्त्री भएर कमाएको आयले प्रधानमन्त्री नभएको बेलामा तपाई जुन मोटर चडेर हिड्नु हुन्छ, जुन सुरक्षा लिनु हुन्छ, घरमा जे जस्तो व्यवस्था गर्नुभएको छ त्यो पैसा कहाँबाट आयो, तपाईले लगाउने कोटको पैसा कहाँबाट आयो त्यो पनि हामीलाई जान्ने अधिकार हुन्छ । प्रधानमन्त्री र संसद सदस्य हुदाँको तलबले त्यो पुग्दैन् । गृहमन्त्री पनि मेरो आफ्नो सम्पत्ति छैन् भन्नु हुन्छ तपाई मन्त्री संसद नभएको बेला तपाईको घर भाडा तिर्ने पैसा कहाँबाट आयो । तपाई चढ्ने गाडीको पैसा कहाँबाट आयो ? ’