लमजुङ, २० पुस (रासस) :
लमजुङको बुद्ध युथ क्लब भोटेओडार र काठमाडौँको भगवती टोखा युवा क्लब सदरमुकाम लमजुङ बेँसीशहरमा जारी २९औँ त्रिवेणी कप राष्ट्रव्यापी पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
बेँसीशहर नगरपालिका–७ स्थित सहजी रङ्गशालामा आज भएको पहिलो खेलमा टोखा भगवतीले आयोजक त्रिवेणी युवा क्लबलाई ३–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा त्रिवेणीका खेलाडीले गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेनन् । खेलमा भगवती टोखाका अमित लामा म्यान अफ दी म्याच घोषित भए ।
अर्को सेमिफाइनल खेलमा बुद्ध युथ क्लब (बिवाइसी) भोटेओडारले समाज कल्याण काठमाडाँैलाई ३–० गोलले हराएको हो । खेल अवधिभर समाज कल्याणले गोल गर्ने सुनौलो अवसर पाए पनि खेर फाल्यो । सो खेलमा म्यान अफ दी म्याच बिवाइसीका सचिन थापामगर भए । फाइनल खेल बुधबार दिउँसो १ बजे हुने आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष विनोद गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाख, पदक र प्रमाणपत्र पाउनेछन् ।
–––