संसदबाट नै सकारात्मक बहसको थालनी भए मुलुकको अर्थतन्त्रमा सुधार आउँछः अर्थमन्त्री

.

अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउनको लागि संसदबाट नै सकारात्मक बहस गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीवार बसेको प्रतिनिधि सभामा सांसदहरुसँगको प्रश्नोउत्तरको जवाफमा अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले देशमा अर्थतन्त्र लगायतका विषयमा सकारात्मक बहसको आवश्यकता रहेको भन्दै उक्त बहस संसदबाटै शुरु गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले देशमा सबै नराम्रो मात्रै भएको छ,अर्थतन्त्र ओरालो लागेर बिग्रियो, अब यो देशमा बस्नु र लगानी गर्नुको औचित्य छैन भन्ने जस्ता नकारात्मक सन्देश समाजमा फैल्याउन नहुने उल्लेख गर्नुभयो । अर्थमन्त्री महतले सबैले नकारात्मक मात्रै कुरा गरी राख्यो भने परिणाम पनि नकारात्मक आउने दाबी गर्नुभयो । मुलुक भित्रै लगानी गर्न लगानीकर्ताको मनोबल बढाउनुपर्ने अवस्थामा अन्योल पार्न नहुने उहाँको भनाई छ । अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्रले कोभिड महामारी लगायत धेरै अफ्ठ्यारो परिस्थिति भोगेर आएको भन्दै अहिले मुलुकको अर्थतन्त्र सहज अवस्थामा रहेकाले आत्तिन नहुने बताउनु भयो । उहाँले अहिले रेमिट्यान्स,पुँजी प्रवाह, प्रर्यटन वृद्धि भइरहेको दाबी गर्नुभयो । अर्थमन्त्री महतले लगानीलाई सहज गर्न मौद्रिक नीति मार्फत वित्त नीतिमार्फत सरकारले सम्पूर्ण प्रयास लगाउने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले भन्नुभयो,‘ देशमा सकारात्मक बहसको आवश्यकता छ । देशमा सबै नराम्रो मात्रै भएको छ । अर्थतन्त्र ओरालो लागेको छ । अर्थतन्त्र बिग्रिरहेको छ । अब यो देशमा बस्नुको औचित्य छैन । लगानी गर्नुको औचित्य छैन  भन्ने जुन नकारात्मक सन्देश समाजमा गएको छ । सबैले नकारात्मक मात्रै कुरा गरिराख्यो भने परिणाम पनि नकारात्मक आउँछ । यस्तो हुँदा लगानीकर्ताले लगानी गर्दा फस्ने होकी भन्ने अन्योल सिर्जना हुन्छ । यो अन्योललाई चिर्न जरुरी छ । सकारात्मक बहसको थालनी गर्नुपर्ने मैले देखेको छु । कोभिड जस्तो कहाली लाग्दो परिस्थितिबाट गुज्रियौं । त्यो बेला हामी आत्तिएनौं । अहिले सबै अवस्था पार गरेर अर्थतन्त्र सहज अवस्थामा आएको छ । अहिले रेमिट्यान्स पनि प्रशस्त छ । पुँजी प्रवाह देशभित्र भइरहेको छ । पर्यटन वृद्धि भइरहेको अवस्था छ । यस्तो हुँदा पनि किन हामी नकारात्मक मात्रै कुरा गर्ने । लगानीलाई सहज गर्न मौद्रिक नीतिमार्फत वित्त नीतिमार्फत सरकारले सम्पूर्ण प्रयास लगाउँछ । सकारात्मक बहसको थलनी संसदबाट हुनुपर्छ । निराश हुने अवस्था छैन । देश सकारात्मकतर्फ उन्मुख हुँदैछ । मुलुकको अर्थतन्त्र पनि सुधार हुँदै छ । त्यसका संकेतहरु देखिएका छन् । राजश्व संकलनमा सुधार आएको छ । आर्थिक गतिविधिहरु बढ्ने वित्तिकै अर्थतन्त्रमा सुधार देखिन्छ ।’

उहाँले देशको अर्थतन्त्र सकारात्मक तर्फ उन्मुख हुँदै गएको बताउनु भयो । उहाँले राजश्व संकलनमा सुधार भएको भन्दै आर्थिक गतिविधिहरु बढ्ने बित्तिकै अर्थतन्त्रमा सुधार हुने विश्वास रहेको बताउनु भयो ।