किसानलाई हाते ट्याक्टर वितरण

.

लमजुङ-क्व्होलासोथर गाउँपालिकाले कृषकलाई हाते ट्याक्टर मिनी टिलर वितरण गरेको छ । गाउँपालिकाले कृषिमा यान्त्रीकरण गरी लागत घटाउने र उत्पादन बढाउन कृषकलाई हाते ट्याक्टर वितरण गर्दै आएको छ ।

 

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत त्रिलोकचन्द्र गुरुङले किसानलाई हाते ट्याक्टर वितरण गर्दै कृषिलाई यन्त्रीकरणसँग जोड्न र उत्पादन बढाउन आग्रह गरे । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ मा विनियोजन गरेको ५ लाख रुपियाँ बजेटमा ट्याक्टर खरिद गरी किसानलाई वितरण गरिएको हो   ।

 

गाउँपालिका कृषि शाखा प्रमुख श्रीकान्त न्यौपानेका अनुसार गाउँपालिकाले कृषकलाई बर्खा र हिउँद गरी दुवै याममा चलाउन मिल्ने दुई वटा चक्कासहित कृषकलाई हाते ट्याक्टर प्रदान गरिएको बताए ।

 

उनका अनुसार डिजेलबाट चल्ने ६ हर्जपावर र ७ हर्जपावर गरी २ प्रकारको ट्याक्टर वितरण गरिएको छ । एउटाको ६५ हजार रुपियाँ मूल्य पर्ने ट्याक्टरलाई ५० प्रतिशत अनुदान दिई ३२ हजार ५ सय रुपियाँ गाउँपालिकाले बेहोरेको र बाँकी किसान आफैँले लगानी गरेको उनले बताए । गाउँपालिकाले कृषिमा लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले हरेक वर्ष हाते ट्याक्टर वितरण गर्दै आएको छ ।

 

गत वर्ष वितरण गरिएको हाते ट्याक्टर प्रभावकारी भएपछि यसलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ । गत वर्ष १७ जनाको निवेदन परेकोमा ८ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको थियो ।

 

यसवर्ष १२ जना किसानको आवेदन परेकोमा ९ जनालाई वितरण गरिएको न्यौपानेले बताए । व्यावसायिक रूपमा कृषि कर्म गर्दै आएकालाई प्राथमिकतामा राखेर हाते ट्याक्टर वितरण गरिएको उनले बताए ।

 

पछिल्लो समय गोरु पाउन मुस्किल परेको र युवा पुस्ता विदेश पलायन भएकाले खेतीयोग्य जमिन बाँझो बनेको अवस्थामा हाते ट्याक्टरले बाँझो खेत जोत्न सहज हुने भएकाले कृषकलाई हाते ट्याक्टरको व्यवस्था गरिएको गाउँपालिका प्रमुख प्रेम घलेले बताए ।

 

विदेश गएका युवालाई गाउँमै फर्काएर कृषि कर्ममा आकर्षित गराउन र स्वरोजगार बनाउन पनि हाते ट्याक्टरले सहयोग गर्ने उनको भनाइ छ । हाते ट्याक्टरमार्फत कम समयमा खेत जोत्न सकिने र गोरु खोज्न नपर्ने उनको भनाई छ ।

 

न्युज कारखाना