एकल जातीय चिन्तन, सोचबाट नेपालको शासन सत्ता चलिरहेको छः राजेन्द्र महतो

.

पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले एकल जातीय चिन्तन सोचबाट नेपालको शासन सत्ता चलिरहेको आरोप लगाउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित आफ्नै राजनीतिक जीवनी ‘अधुरा क्रान्ति’ नामक पुस्क विमोचन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अधिकार र पहिचान मेटाइदिने काम राम्रो नभएको बताउनु भयो । उहाँले पृथ्वीनारायण शाहपछिका अहिलेसम्मका शासकहरुले साझा नेपाल बनाउन नसकेको बताउनु भयो । उहाँले १०४ वर्षे जहाँनिया शासन, त्यसपछि वंशीय शासन र ०४६ सालको लोकतन्त्रपछि अहिलेसम्म गणतन्त्रसम्म नश्लीय शासन सत्ता मात्रै सञ्चालन भइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो देश कानून बन्दाखेरी नै वान नेशन, वान स्टेटेड थेउरीमा नेपाल बनेकै थिएन । यहाँ जबरजस्ती नेपाल चलाउन खोज्यो । अप्राकृतिक ढंगले नेपालको शासन र संविधान बनाउन र चलाउने काम भयो । यो देश बन्दाखेरी नै विभिन्न पहिचानहरु मिलाएर बनेको नेपाल हो नि त । बाइसे, चौबिसे भनेको होइन । नेपाल बन्नु भन्दा पहिला त छुट्टै राज्य र पहिचान थिए नि । सबै पहिचान एक ठाउँ बनाएपछि नेपाल बनेको हो नि । नेपाल बन्यो राम्रो हो, हामी स्वाभिमानी भयौँ, पहिचान भयौँ, राम्रो हो । तर अधिकार र पहिचान मेटाइदिने त्यो त राम्रो भएन नि । पृथ्वीनारायण शाहपछिका अहिलेसम्मका शासकहरुले साझा नेपाल त खै बनाएको ? साझा फूलबारी खै ? १०४ वर्षे जहाँनिया एकल फूलबारी भयो । एकल फूलबारी बन्यो । त्यसपछि बंसीय शासन । ०४६ सालको लोकतन्त्रपछि अहिलेसम्म गणतन्त्रसम्म नश्लीय फूलबारी । एकल जातीय चिन्तन सोचबाट नेपालको शासन र संविधान बनाएर चलाइएको छ, यो त ठिक भएन नि ।’

नेता महतोले सबैको भाषा, संस्कृति र भेषभुषाको मान्यता हुनुपर्ने बताउनु भयो । उहाँले देश एकल चिन्तन सोचबाट चल्न नसक्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल