नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)ले आफ्नो पार्टी एकतावद्ध रहेको बताएको छ ।
सोमवार बसेको संसदीय दलको बैठकले पार्टीको सम्बन्धमा विभिन्न अफवाहहरु फैलाइएको भन्दै पार्टी एकढिक्का रहेको निष्कर्ष निकालेको हो । आईतवार उपेन्द्र यादव नेतृत्वको सत्तारुढ जनता समाजवादी पार्टी, नेपाल विभाजन भएसँगै एकीकृत समाजवादी पनि विभाजन हुनसक्ने भनेर टिकाटिप्पणी शुरु हुन थालेको थियो । सोही विषयलाई प्रष्ट्याउँदै एकीकृत समाजवादीले पार्टीलाई अझ बलियो र सशक्त बनाउने दृढता पनि व्यक्त गरेको छ । संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शेरबहादुर कुँवरले बजेट अधिवेशनमा सशक्त ढंगले भुमिका खेल्ने र संसदीय दललाई प्रभावकारी बनाउने निर्णय गरिएको बताउनु भयो । उहाँले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझाव दिने निर्णय भएको पनि जानकारी दिनुभयो । त्यस्तै, उहाँले पार्टीका बारेमा हल्ला चलाइएको भन्दै आफूहरुको पार्टी एकढिक्का भएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘१८ जनाको सहभागिता थियो । सम्पूर्ण सदस्य उपस्थित थियौँ । बजेट अधिवेशनमा हाम्रो दलको भुमिका हामीले संसदमा कसरी खेल्ने ? कसरी जनताका मुद्दाहरुलाई उठाउने र अहिले आगलागीको समस्या, बाढी, पहिरोको समस्यालाई संसदमा सशक्त ढंगले उठाउने र संसदीय दललाई प्रभावकारी ढंगले उभ्याउने भन्ने पहिलो निर्णय भएको छ । सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझाव दिने, आगामी अधिवेशनमा जनसरोकारका विषयहरु सशक्त रुपमा उठाउने र कानून निर्माण प्रक्रियामा सक्रिय भुमिका निभाउने निर्णय गरेको छ । हाम्रो पार्टीको बारेमा अनेकखालका हल्लाहरु चलाइए, ६ जना सांसद त्यहाँ गए । यो सँग भेटे भनेर कपोकल्पित समाचार आएको हामीले सुन्यौँ । त्यसबारेमा हाम्रो पार्टी प्रष्ट छ, हाम्रो संसदीय दलका सदस्यहरु, हाम्रो पार्टीका सांसदहरु कहीँ कतैपनि जानुभएको छैन । कहिँ कसैसँग साँठगाँठ गर्नुभएको छैन । हामी एकढिक्का भएर एकीकृत समाजवादीलाई बलियो बनाउन चाहान्छौँ र यो पार्टीको भुमिकालाई अझै सशक्त बनाउँछौँ भन्ने कुरालाई आजको बैठकले सन्देश दिएको छ ।’
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा(एकीकृत समाजवादी)का उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुसालले अनावश्यक रुपमा बाहिर हल्ला चलाइएको बताउनु भयो । उहाँले आफूहरुको पार्टीभित्र कुनै समस्या नभएको बताउनु भयो । उहाँले एकीकृत समाजवादीसहितका दलहरुले अर्को समिकरण बनाउँदैछन् भनेर गलत हल्ला चलाइएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘हामी १८ जना उपस्थित भयौँ । छलफल ग¥यौँ । त्यस्तो हाम्रोभित्र केही पनि छैन । यो अनावश्यक हल्ला हो । बाहिर अनावश्यक रुपले हल्ला चलाएका छन् । क–कसले चलाएका हुन् थाहा छैन । कुनैपनि अर्थ छैन यस्ता भेटघाट, सरसल्लाह बाहिर आएका प्रचारको कुनैपनि अर्थ छैन । जे खालको अर्को समिकरण गर्दैछन् भन्ने हल्ला चलाइएको छ त्यो नै गलत हो । कुनै केही पनि भएको छैन । त्यस्तो केही भएको छैन ।’
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक मेटमणि चौधरीले एकीकृत समाजवादीका कार्यकर्ता र समर्थकलाई हतोत्साहि गराउनका लागि बालकोटमा बसेर एकीकृत समाजवादी फुटको हल्ला चलाइएको बताउनु भयो । उहाँले योजनावद्ध रुपमा हल्ला चलाइएको भन्दै त्यसले आफूहरुलाई कुनै असर नपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘सरकारले ल्याउने नीति, कार्यक्रम र बजेट बारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझाव दिने । बजेट अधिवेशनमा हाम्रो पार्टीको तर्फबाट प्रभावकारी भुमिका निर्वाह गर्ने भन्ने निर्णय गरेका छौँ । हिजो र आज हाम्रो पार्टीको संसदीय दलका बारेमा चलेको कुरा भ्रामक हो भन्नेकुरा सबैलाई जानकारी गराउन चाहन्छौँ । बजेटसम्म यो सरकारमा जाने नै भयो । त्यसपछि के गर्ने भन्नेकुरा फेरि संसदीय दलको बैठकमा बसेर टंगोमा पुग्छौँ । माननीयहरुले सरकारमा रहाँै भन्ने नै छ । एकीकृत समाजवादीका कार्यकर्ताहरु, समर्थक र शुभचिन्तकहरुलाई डिमोरोलाइज गर्न सकिन्छ कि भनेर बालकोटमा बसेर प्रिप्लानका साथ फैलाइएको अफवाह मात्रै थियो । यसमा हामीलाई कहीँ चासो पनि आउँदैन । विभाजनले लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउँछ । ठूला दल नै विभाजनका लागि भुमिका निर्वाह गर्ने, आफ्नो कोठामा बोलाएर निर्देशन गर्नेकुरा गैरराजनीतिक असंसदीय कुराको रुपमा हामीले लिएका छौँ ।’
उहाँले राजनीतिक दल विभाजनले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाउने बताउनु भयो । उहाँले ठूला दलहरुले नै जसपा विभाजनका लागि भुमिका खेलेका बताउनु भयो । —न्युज एजेन्सी नेपाल