नुवाकोटकी मनकारी सावित्री ढुंगाना: जसले वडा भवन निर्माणका लागि निशुल्क जग्गा दान गरिन

.

काठमाडौं – नुवाकोटको बेलकोटगडी नगरपालिकाकी सावित्री ढुंगानाले वडा भवन निर्माणका लागि आफ्नो नौ लाख रुपैयाँ पर्ने जग्गा दान दिएकी छन् ।

वडाको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा परेको अप्ठेरो नजिकबाट देखेकी सावित्रीले दुई रोपनी जग्गा वडालाई उपलब्ध गराएकी हुन् ।

 वडाभवनको अभावमा स्थानीयवासीले दुःख पाएपछि जग्गा दिने निर्णय गरेको सावित्री बताउँछिन् । वडा कार्यालयबाट हुनुपर्ने काम वडाध्यक्षको झोला वा अन्य स्थानबाट सञ्चालन गरेको देखेर यस्तो निर्णयमा पुगेको उनको भनाइ छ ।

‘वडाभवनको अभावमा स्थानीयलाई सेवा पाउन कठिनाइ भएपछि मलाई जग्गादान गर्ने सोच आएको हो’ उनले भनिन् । आफूले दिएको जग्गामा वडा भवन बने स्थानीयले सहज सुविधा पाउने उनको विश्वास छ ।

No description available.

सावित्रीले जग्गा दिएसँगै वडा कार्यालयको निम्ति पक्की भवन बन्ने आशा स्थानीयले पनि गरेका छन् । तर, जनप्रतिनिधि निर्वाचित भएको चार वर्षसम्म पनि वडाभवनको लागि ठोस पहल नभएकोमा उनीहरुको गुनासो छ । अब भवन निर्माणको प्रक्रिया छिट्टै हुनुपर्ने र त्यसका लागि वडाका प्रतिनिधिले अग्रसरता लिनुपर्नेमा वडावासीको जोड छ ।

सामान्य प्रशासन मन्त्रालयको २०७६ माघ २२ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार निः शुल्क जग्गा प्राप्ति गर्न प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिले गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गरि बेलकोटगढी नगरपालिका १ को वडा कार्यालय भवन निर्माण गर्न निः शुल्क जग्गा दान दिइएको हो ।

हाल बेलकोटगढी नगरपालिका १ को कित्ता नम्बर १९७३ को क्षेत्रफल २ रोपनी जग्गा लामो सरकारी प्रक्रिया पूरा गरि पुस १९ गते बेलकोटगढी नगरपालिका १ वडा कार्यालयको स्वामित्वमा आएको हो ।

जग्गा दान गर्ने सावित्री कुमारी ढुंगानाका छोरा दिपक ढुंगानाले भवनको अभावमा स्थानीयको दुःख देख्न नसकेर जग्गा दान गरेको बताए । आफूले केही गर्न सके पूरै गाउँलाई नै सहज हुने भएकाले जग्गा दान दिने सोच बनाएको उनको भनाइ छ ।

कार्यवाहक वडाध्यक्ष हर्कबहादुर तामाङले जग्गा प्राप्त भएको र अब छिटै नै वडा कार्यालय बनाउने जानकारी दिए । उनले भने, ‘गत सोमबार जग्गा वडा कार्यालयको नाममा पास भएको छ । अब ३५ दिने टेण्डर आह्वान गरेर छिटै नै वडा भवन बनाउने सोचमा छौं ।’

जग्गा अभावका कारण वडाको भौतिक संरचना बन्न नसकिरहेको अवस्थामा जग्गा प्राप्त हुनु ठूलो उपलब्धि भएको स्थानीय जनप्रतिनिधिहरु दंग देखिएका छन् । हाल वडाको कामकाज भाडाको घरबाट भइरहेको छ ।