काठमाडौं – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ मंगलबार बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले फागुन २४ गते संस्थाको आईपीओ बाँडफाँड गरेको हो ।
कम्पनीको आईपीओमा माग भन्दा ३८ गुणा बढी अर्थात २६ लाख भन्दा धेरैले आवेदन परेको थियो । रितपूर्वक आवेदन दिनेमध्ये ७७ हजार ४५६ जनाले मात्रै संस्थाको सेयर हात पारेका छन् । उनीहरुले गोलाप्रथाबाट १०/१० कित्ताको दरले सेयर हात पारेका हुन् । तीन जनाले ११/११ कित्ता आईपीओ हात पारेका छन् ।
आईपीओमा २५ लाख २२ हजार ९५५ जनाको आवेदन मात्रै रितपूर्वक आवेदन दिएका थिए भने ४ हजार १४६ जनाले दिएको आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ ।
उक्त आईपीओको नतिजा अर्थात रिजल्ट केहीबेरमै हेर्न सकिने छ । आईपीओ बाँडफाँड गरेको ३० मिनेटको अवधिमै लगानीकर्ताले मेरो सेयरको वेवसाइटबाट आईपीओको नतिजा हेर्न सक्ने छन् ।
अधिकृत पूँजी रु ५० करोड र हालको जारी पूँजी रु २५ करोड ५० लाख तथा चुक्ता पूँजी रु १७ करोड २१ लाख २५ हजार रहेको कम्पनीले सर्वसाधारणलाई खरिदका लागि खुला गरेको साधारण शेयरको बाँडफाँड पश्चात चुक्ता पूँजी रु २५ करोड ५० लाख पुगेको छ ।
धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आइ आर बीबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङ अनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।