घोरामीमा कृषि प्रदर्शनी

.

दाङ-दाङको घोराहीमा बिहीबारदेखि दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी मेला सुरु भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा मेला सुरु भएको हो । 

 

दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनीकोको उद्घाटन लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गरेका हुन् । उनले दाङको कृषि क्षेत्रको विकासका लागि मेला महोत्सवमार्फत स्थानीय क्षेत्रको कृषि उत्पादन प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताए ।

 

दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनीको बिहीबार दाङको घोराहीमा सम्बोधन गर्दै कृषिसम्बन्धी ज्ञान, औद्योगिक क्षेत्रबाट उत्पादित बस्तुको उत्पादन प्रवर्द्धनसँगै त्यसको बारेमा ज्ञान र सिकाइको केन्द्र बन्नुपर्ने बताए ।

 

उनले कुनै पनि मेला महोत्सव तथा प्रदर्शनी आर्थिक लाभका लागि मात्रै नभई जिल्लाको समग्र विकासका लागि सिकाई केन्द्र बन्न सकेको खण्डमा यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

 

उनले नेपालको अर्थतन्त्रमा राष्ट्रिय औद्योगीकरणको दिशामा लैजान नीति निर्माण तहमा सरकारको भूमिकासँगै निजी क्षेत्रको भूमिका अझ बढी हुने हुँदा निजी क्षेत्रलाई आफ्नो भूमिका अझ बढाउन अपिल गरे । स्थानीय सम्भावनालाई उजागर गर्न निजी क्षेत्रले नीति निर्माण तह तथा राज्य पक्षलाई दबाब दिन सकेको अवस्थामा यसले सिंगो अर्थतन्त्रमा टेवा पुग्ने बताए ।

 

उनले कुनै बेला आत्मनिर्भर देश परनिर्भर बन्नुका पछाडि गम्भीर समीक्षा हुन आवश्यक रहेको बताए । कृषि क्रान्तिका कुरा गरे पनि अहिले पनि देशको अधिकांश भाग सिँचाई सुविधा नपुगेको ठाउँमा सिँचाई सुविधा पुर्‍याउन राज्यका सबै अंग अग्रसर हुनुपर्ने बताए ।

 

यसैबीच, दाङ पर्यटनको प्रचुर सम्भावना भएको जिल्ला भएकाले भोलिको आर्थिक विकास प्रमुख आधारका रूपमा तीन वटा स्थानले नेतृत्व लिन सक्ने बताए । पूर्वाधार विकास र बस्ती विकास क्रम अनुसार घोराही, तुलसीपुर र देउखुरी सम्भावनाको क्षेत्र बन्दै गएको दाबी गरे । जसका लागि प्रदेश सरकारले तय गरेको राजधानीमा नयाँ सहरको परिकल्पनाका साथ अघि बढेको बताए । यसका लागि दाङवासीलाई उनले देउखुरीको राजधानी कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह पनि गरे ।

 

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रदर्शनी मूल आयोजक समिति संयोजक टंकसिंह बुढाथोकीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष  एवं सार्क चेम्बरका उपाध्यक्ष चण्डीराज ढकालले अब देशको विकासका लागि आर्थिक क्रान्ति हुनुपर्ने बताए । जसका लागि लागि आन्तरिक उत्पादनको प्रवर्द्धन गर्न मेला महोत्सवका माध्यमबाट अघि बढ्न सकिने धारणा व्यक्त गरे ।

 

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सामाजिक संघसंस्था, उद्योग वाणिज्य संघलगायत दर्जन बढी वक्ताहरूले प्रदर्शनी सफलताको शुभकामना व्यक्त गरेका थिए । प्रदर्शनीमा आगामी चैत्र ८ गतेसम्म सञ्चालन हुनेछ ।

न्युज कारखाना