१४ लाख ४६ हजार ६ सय १ जना किशोरीले पाठेघरको मुखको क्यान्सरबिरुद्ध प्रयोग हुने (एचपिभी) खोप लगाएका छन् ।
सरकारले माघ २२ गते एचपिभी खोप अभियान शुभारम्भ गरेको थियो । अभियानअन्तर्गत १४ लाख ४६ हजार ६ सय १ जना किशोरीले खोप लगाएको राष्ट्रिय सभाको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताउनु भयो । नेपालको राष्ट्रिय खोप कार्यक्रममा समावेश भएको यो खोप सुरक्षित एवं प्रभावकारी रहेको बताउनु भयो । लक्षित समूहका किशोरीहरुलाई निःशुल्क उपलब्ध गराइएको बतउनु भयो । उहाँले आगामी वर्ष १० वर्षदेखि उमेरसमूहका कक्षा ६ मा पढ्नेहरुलाई हरेक वर्ष लगाइने बताउनु भयो । कुल लक्ष्य १५ लाख ६० हजार ८ रहेकोमा ९३ प्रतिशतले खोप लगाएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालको राष्ट्रिय खोप कार्यक्रममा समावेश भएको यो खोप सुरक्षित एवं प्रभावकारी छ । लक्षित समूहका किशोरीहरुलाई निःशुल्क उपलब्ध गराइएको छ । आगामी वर्ष १० वर्ष उमेरसमूहका कक्षा ६ मा पढ्नेहरुलाई हरेक वर्ष लगाइनेछ । यस लक्ष्यअनुसार यस वर्ष ९३ प्रतिशतले प्राप्त गरेको तथ्यांक छ । १४ लाख ४६ हजार ६ सय १ जना किशोरीले खोप प्राप्त गर्नुभएको छ । कुल लक्ष्य १५ लाख ६० हजार ८ रहेको थियो । कति विदेश, कति पहिल्यै लगाउनुभएको र कति विविध कारणले छुट्नुभएको स्थिति छ । अहिले पनि स्वास्थ्य केन्द्रहरुमा निःशुल्क उपलब्ध गराउने गरी व्यवस्था गरिएको छ ।’
मन्त्री पौडेलले यस खोपले कुनै साइट इफेक्ट नपरेको दाबी गर्नुभयो । उहाँले या खोप पुरुषहरुलाई पनि दिने गरिएको र १४ वर्ष माथिका किशोरी र महिलालाई पनि दिने गरिएकाले नेपालले पनि अध्ययन गरिरहेको बताउनु भयो । उहाँले नेपालको आफ्नै क्षमताले प्राप्त गर्न कठिन भएका कारण सहयोगी संस्था र मित्रराष्ट्रहरुमार्फत उपलब्ध गर्ने परिस्थिति निर्माण गर्ने काममा लागेको बताउनु चयो ।
उहाँले भन्नुभयो, ‘हालसम्म उपलब्ध सूचनाहरुको आधारमा तथ्यांक र प्रमाणहरुको आधारमा कुनै साइट इफेक्ट पर्नेकुरा अहिलेसम्म बुझिएको छैन । यो पूर्ण सुरक्षित छ भन्ने नै छ । पुरुषहरुलाई पनि दिने गरिएको छ । यसमा अध्ययन गरिरहेका छौँ । हाम्रै क्षमताले प्राप्त गर्न कठिन भएका कारणले सहयोगी संस्था र मित्रराष्ट्रहरुमार्फत उपलब्ध गर्ने परिस्थिति हुनसक्छ की त्यसको निम्ति गृहकार्य गरिरहेका छौँ । पुरुषहरु र १४ वर्ष माथिको उमेर समूहका महिला र किशोरीलाई पनि उपयुक्त हुने भन्ने अध्ययनबाट देखिएको छ । यसलाई थप पुष्टि गर्ने र श्रोत खोजेर उपलब्ध गराउन आवश्यकताअनुसार प्रयत्न गर्नेछौँ ।’
उहाँले सरकारले श्रोत खोजेर उपलब्ध गराउन आवश्यकताअनुसार प्रयत्न गरिरहेको बतउनु भयो । —न्युज एजेन्सी नेपाल