सात नगरपालिका पुरस्कृत

.

काठमाण्डाै – नेपाल नगरपालिका सङ्घले यस वर्षको मूल्याङ्कनमा सफल भएका सात उत्कृष्ट नगरपालिकालाई पुरस्कृत गरेको छ ।

 

सङ्घले आफ्नो २९ औँ साधारण सभाको अवसर पारेर आज आइतवार काठमाण्डौमा एक कार्यक्रमका बीच पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट भएका नगरपालिकाका प्रतिनिधिलाई पुरस्कार प्रदान गर्नुभयो ।

 

संस्थागत विकास सेवा प्रवाह र वित्तीय सुशासन विधामा स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएका हुन् ।

 

यस्तै सहरी योजना पूर्वाधार विकास तथा विपद् व्यवस्थापन विधामा धादिङको निलकण्ठ नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएको छ ।

 

वातावरण तथा जलवायु परिवर्तन विधामा इलामको इलाम नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएको छ ।

 

स्थानीय आर्थिक विकास विधामा हरिवन नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएको छ ।

 

स्थानीय स्रोत परिचालन गर्दै पालिकाको विकासमा उत्कृष्ट काम गर्ने हरिवन नगरपालिकाले पनि उत्कृष्ट हुँदै पुरस्कार पाएको छ ।

 

सामाजिक विकास विधामा तिलोत्तमा नगरपालिका र राप्ती नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएका छन् ।

 

कार्यक्रममा प्रधानमन्त्री देउवाले सीमित साधन, स्रोतका बाबजुद स्थानीय सरकारले जनताको अपेक्षा र भावनाअनुसारको काम गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्नसक्नुपर्ने बताउनुभयो ।