काठमाडौं- बौद्ध शिक्षामा स्नात्तकोत्तर तहका कक्षा सञ्चालनमा आएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहार कीर्तिपूर बीचको शैक्षिक सहकार्यमा पढाई सुरु भएको हो । सहकार्यसंगै कीर्ति विहार क्याम्पसले मास्टर्स इन बुद्धिजम एण्ड सस्टेनेवल डेभलोपमेन्ट (एमविएसडी) सञ्चालनमा ल्याएको हो ।
मंगलबार क्याम्पसको उद्धाटन गर्दै पूर्व शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले बौद्ध शिक्षाको प्रचारका कलेज आवश्यक रहेको बताउनु भयो । बौद्ध शिक्षा स्वदेशीलाईमात्रै नभई विदेशी विद्यार्थीहरुलाई पनि आकर्षित गर्नु पर्नेमा श्रेष्ठले जोड दिनुभयो ।
यता विश्व विद्यालयका उपकुलपति डा.हृदयरत्न बज्राचार्यले काठमाडौंमा बौद्ध शिक्षा सञ्चालनमा आउनु सुखद् रहेको बताउनु भयो । उहाँले ब्रम्ह विहारको नीतिमा आफ्नो स्थान खोजिनु पर्ने र गरिबीको मानसिकतामा परिवर्तन गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयसंग भएको सम्झौता अनुसार काम गर्न कलेजलाई आग्रह समेत गर्नुभयो ।
त्यस्तै कीर्ति विहार क्याम्पसका प्रमुख डा.सुमन मानन्धरले पाँच वर्षको अथक मिहेनतले क्याम्पस सञ्चालनमा आएको बताउनुभयो ।