रोशन रेग्मी
स्याङ्जा – बुटवलदेखि पोखरा जोड्ने बुटवल-पोखरा सडकखण्ड स्तरोन्नति गरिने भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने १८२ किलोमिटर लामो यस सडकखण्डको १५७।९५ किलोमिटर भागलाई सुधार गरिनेछ।
पोखराको पृथ्वीचोकबाट स्याङ्जा, पाल्पा हुँदै बुटवलको गोलपार्कसम्म पुग्ने यो सडकखण्ड स्तरोन्नतिसँगै अझ सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।
सडक स्तरोन्नतिमा १९ अर्ब ७५ करोड ९० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। दीर्घकालीन समाधानका लागि आवश्यक पर्ने भायाडक्ट ९पुल संरचनाजस्तो पिलरसहित० र सुरुङ मार्ग निर्माणमा मात्रै ९ अर्ब ३७ करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान छ।
हाल गण्डकी प्रदेशको कास्की, स्याङ्जा हुँदै लुम्बिनी प्रदेशको पाल्पा र रुपन्देही जोड्ने यो सडकखण्डको चौडाइ साढे पाँचदेखि छ मिटर रहेको छ। स्तरोन्नतिसँगै यो सडक कम्तीमा सात मिटर क्यारिजवे, दुवैतर्फ १।५ मिटरको सोल्डर, एक मिटरको नाला सहित दुई लेनको बनाइनेछ। साथै, सडकमा पर्ने पुलहरू आवश्यकताअनुसार मर्मतसम्भार गरिने छन्।
यसैबीच, बन तथा वातावरण मन्त्रालयले विज्ञप्ति जारी गर्दै सडक स्तरोन्नतिको कार्य वातावरणीय प्रभाव मूल्यांकनसहित अघि बढाइने जनाएको छ। मन्त्रालयका अनुसार परियोजना कार्यान्वयनका क्रममा वातावरणीय सन्तुलन कायम राख्न आवश्यक प्रक्रिया पूरा गरिनेछ।