काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन होला र चुनाव जितौँला भन्ने धेरै आश नगर्न आफ्ना नेता कार्यकर्तालाई सुझाव दिएका छन्।
पोखरामा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले जनतासँगको सम्बन्ध सुदृढ गरेर निर्वाचनमा जानुपर्ने र आफ्नै बलमा जित्नुपर्नेमा जोड दिएका हुन् । ‘गठबन्धन होला र जितौंला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो।’ उनले भने ।
साथै अध्यक्ष प्रचण्डले वैशाख ३० गते घोषित स्थानीय तहको निर्वाचन नहुने कुनै कारण नदेखेको भन्दै तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।
पार्टीको गण्डकी प्रदेश कमिटीले आज आयोजना गर्ने प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न प्रचण्ड पोखरा गएका हुन् । प्रचण्ड हिजो सिन्धुलीमाढी गएका थिए । फागुनको तेस्रो साता केन्द्रीय कमिटी बैठक बसेपछि अध्यक्ष प्रचण्ड देशव्यापी प्रदेशस्तरीय प्रशिक्षणमा व्यस्त छन् ।