काठमाडौं । बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजले पहिलोपटक स्वरोजगार ट्याक्सी व्यवसायी तथा उनीहरुको परिवारलाई लक्षित गर्दै ‘ नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम २०८२ ’ आयोजना गर्ने भएको छ ।
ललितपुरको सानेपामा रहेको मेघा अस्पतालसँगको सहकार्यमा बैशाख २० गते, शनिबार, बिहान ०७:३० बजेदेखि बिहान ११:०० बजेसम्म राजधानी काठमाडौंको नागार्जुन नगरपालिका -४, बाफलस्थित बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजको कार्यालयमा उक्त नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिने समाजका केन्द्रीय महासचिव राजन कुमार श्रेष्ठले बताए ।
उपत्यकामा संचालित स्वरोजगार ट्याक्सी व्यवसायी तथा चालकहरुको स्वास्थ्यलाई मध्ये नजर गर्दै १ दिने स्वास्थ्य शिविर राखिएको समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष बाबुकाजी श्रेष्ठले बताए । ‘हामीहरु सँधै सेवामा तल्लिन हुन्छौँ, तर आफ्नो स्वास्थ्यको बारेमा त्यति वास्ता गर्दैनौँ त्यसैले हामीले स्वास्थ्य शिविर राखेका छौँ’, श्रेष्ठले भने ।
उक्त नि:शुल्क स्वास्थ्य शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, इ.सी.जी., भिडियो एक्सरे, दन्त रोग, मधुमेह रोग, रक्तचापलगायतका विभिन्न रोग सम्बन्धि चिकित्सकद्दारा चेकजाँच गरिने समाजले जनाएको छ ।