काठमाडौं -ऐतिहासिक पर्यटकीय नगरी तानसेनमा व्यवस्थित वसपार्क आयोजनाका लागि नगर विकास कोषसँग ऋण सम्झौता भएको छ । कोषको प्राविधिक सहयोगमा अध्ययन गरिएको ‘पाल्पा बसपार्क’ आयोजना निर्माणका लागि शुक्रबार दुई पक्षबीच ऋण सम्झौता सम्पन्न भएको हो ।
नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही बिच १७ करोड ४३ लाख १२ हजारको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । ‘पाल्पा बसपार्क’ आयोजना निर्माणको कुल अनुमानित लागत रकम २४ करोड ९० लाख १७ हजारको ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिका आफैले व्यहोर्ने सम्झौतामा उल्लेख छ ।
तानसेन नगरपालिकाको वडा नं. ५ वनदेवीमा करिब १ सय रोपनी क्षेत्रफलमा निर्माण हुने यो आयोजनालाई लुम्विनी प्रदेश र गण्डकी प्रदेशका स्याङ्गजा, अर्घाखाँची, पाल्पा, गुल्मी, रुपन्देही लगायतका जिल्लाहरुबाट आवतजावत गरिने सवारी साधनहरुको व्यवस्थापनका लागि महत्वपूर्ण नमूना आयोजनाको रुपमा हेरिएको छ । यस आयोजना अन्तर्गत प्रथम चरणमा आगन्तुक प्रतिक्षालय, सप स्टल, चिल्डे«न पार्क सहितको व्यवस्थित वसपार्क निर्माण हुने छ । दोस्रो चरणमा वसमार्कमा आर्थिक गतिवधीलाई प्रवद्र्धन गर्ने उद्देश्यले व्यवसायीक भवनको समेत निर्माण हुने छ ।
सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुख शाहीले वसपार्क निर्माणपछि नगरवासीलाई व्यवस्थित र आधुनिक सेवा सुविधा प्रवाह गर्नुका साथै यस क्षेत्रका जनताको सामाजिक र आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले आयोजना गुणस्तरीयरुपमा समयमा नै सम्पन्न गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
त्यसैगरि कोषका कार्यकारी निर्देशक सापकोटाले व्यवस्थित वसपार्कको अभावमा सुन्दर नगरी तानसेनको शहरी शौन्दर्यतामा असर परिरहेको वर्तमान अवस्थामा सुविधा सम्पन्न वसपार्कको आयोजना अगाडि बढेकोमा खुशी व्यक्त गरे । उनले आयोजना ऋण सम्झौताको चरणसम्म आईपुग्दा नगर विकास कोषले आयोजनालाई गुणस्तरीय बनाउन आयोजनाको तयारी तथा विकासको चरणदेखि नै नगरपालिकासंग सहकार्य भएको बताउदै आयोजनालाई गुणस्तरीय रुपमा सम्पन्न गर्ने तर्फ नगरपालिकाको महत्वपूर्ण भूमिका रहने धारणा राखे ।
सम्झौता कार्यक्रमा तानेसेन नगरपालिकाका समाजसेवी ठाकुर प्रसाद गैरे र तानेसेन नगरपालका वडा नं. १ का वडाध्यक्ष रामप्रसाद वस्यालको समेत उपस्थिती रहेको थियो ।