पौवादुङ्मामा हुने पाँचौँ भोजपुर अल्ट्रा ट्रेल रेसको तयारी पुरा

.

भोजपुर-पाँचौँ भोजपुर अल्ट्रा ट्रेल रेस–२०७८ को तयारी पुरा भएको छ । पौवादुङ्मा गाउँपालिका–५ सानोदुङ्मामा यही चैत १२ गते हुने  पाँचौँ भोजपुर अल्ट्रा ट्रेल रेस–२०७८  सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । मिरा राई फाउण्डेशनले आयोजना गर्ने अल्ट्रा ट्रेल रेसमा देश तथा विदेशका गरी तीन सय बढीको सहभागिता रहने भएको छ ।

 

अल्ट्रा ट्रेल रेस ५० किलोमिटरको हुनेछ । आयोजक मिरा राई फाउण्डेशनका कोषाध्यक्ष नुतन राईका अनुसार पुरुष र महिला दुवै विधातर्फ प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको दुवै विद्यामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले नगद ३० हजार, तृतीय हुनेले  २० हजार, चौथोलाई र १० हजार र पाँचौँलाई  ५ हजार पुरस्कार प्रदान गरिनेछ ।

 

यस्तै स्थानीयका लागि १० किलोमिटरको अल्ट्रा ट्रेल रेस पनि हुने भएको छ । त्यसमा प्रथम हुनेले नगद १० हजार, द्वितीय हुनेले  ५ हजार, तृतीय हुनेले ३ हजार पुरस्कार प्राप्त गर्ने अध्यक्ष खेमराज राईले जानकारी दिए ।

 

प्रतियोगिताका लागि १ नम्बर प्रदेश सरकार र पौवादुङ्मा गाउँपालिकाले आर्थिक सहयोग गरेको छ भने सह प्रायोजनमा किराँत राई सेवा समाज सानोदुङ्मा भोजपुर रहेको छ । सो प्रतियोगिता समापन समारोहमा गायक नन्दु गुरुङ र तारावीर पान्डेको पनि प्रस्तुति रहने भएको छ।

 

मोरङको उर्लाबारीका धावकहरू  पनि प्रभु राईको नेतृत्वमा भोजपुर अल्ट्रा ट्रेल रेसमा सहभागी जनाउने भएका छन् ।

न्युज कारखाना