कृषि उद्यम केन्द्रले गर्‍यो ३० वटा भन्दा बढी कृषिमा आवद्ध संस्थाहरुसँग छलफल

.

काठमाडौं । कृषि उद्यम केन्द्रले गरेको ‘ कृषि क्षेत्रका चुनौती, सम्भावना र नवप्रवर्तनको खोजी ’ विषयक छलफल कार्यक्रममा सहभागी विभिन्न संघ / संस्थाका प्रतिनिधिहरूले कृषि क्षेत्रको दिगो विकासका लागि नीति, प्रविधि, बजारीकरण, बीमा र सहजीकरणका पक्षमा सरकारको स्पष्ट कदम आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा नेपाल कुचो संघ, रुद्राक्ष व्यवसायी संघ, नेपाल यार्सागुम्बा संघ तथा नेपाल डेरी एसोसिएसनको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सहभागी सरोकारवालाहरूले आ – आफ्ना क्षेत्रका समस्या, चुनौती र सम्भावना स्पष्ट रूपमा राखेका थिए । उक्त कार्यक्रममा ३० वटा भन्दा बढी कृषिसँग आबद्ध संस्थाहरु सहभागी रहेका थिए । नेपाल पलाइउड एसोसिएसनका अध्यक्ष होमप्रसाद घिमिरेले यस क्षेत्रमा बीमाको व्यवस्था नभएको बताउँदै सरकारले अध्ययन गरेर सहजीकरण गर्नु पर्ने धारणा व्यक्त गरे ।

घिमिरेले पलाइउडमा ध्यान दिन सके यसले राजस्व र रोजगारीमा योगदान पुर्याउने बताए । यस्तै, नेपाल बिउ व्यवसायी संघका अध्यक्ष सुरेश गुरुङले सरकारी लापरवाहीका कारण अर्बौंको बीउ विदेशबाट आयात भइरहेको बताउँदै रैथाने बीउको संरक्षण र प्रवर्धनमा जोड दिए । नेपाल कृषि मेशिनरी व्यवसायी संघकी उपाध्यक्ष सुनिता नेम्हाफुकीले सार्वजनिक खरिद ऐनले व्यवसायीलाई अवरोध गरेको भन्दै ऐन सुधारको माग गरिन् । नेम्हाफुकीले करार खेतीलाई प्रोत्साहन गर्नु पर्ने र मेसिनरी उपकरणको गुणस्तरमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन् । त्यस्तै, नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले जलवायु परिवर्तनका कारण पछिल्लो समय उत्पादनमा ह्रास आएका बताउँदै सरकारले जलवायु मैत्री किरा, उपचार गरिएका विरुवा उत्पादन गनु पर्ने बताए ।

भट्टराईले अलैँचीको क्षेत्रमा बीमा गर्न कम्पनीहरुले वास्ता नगर्दा किसानहरु समस्या परेको र तत्काल सरकारले सो विषयमा ध्यान दिन आग्रह गरे । भट्टराईले कृषिजन्य वस्तुहरु निर्यात गर्नको लागि अन्य देशहरुको मापदण्ड पूरा गर्न ल्याब टेष्ट नभएको बताउँदै त्यसमा पनि ध्यान दिन आवश्यक रहेको बताए । बिउ व्यवसायी संघका निवर्तमान अध्यक्ष बसन्त मरहठाले आउँदै गरेको कृषि ऐन किसान र क्षेत्रमैत्री हुनु पर्ने माग गर्दै बीउ संरक्षण र उत्पादन वृद्धिमा जोड दिए । यसैगरी, फ्लोरिकलचर एसोसिएसन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले सरकारले लगाएको १३ प्रतिशत भ्याटका कारणले पुष्प व्यवसाय ओराले लागेको र क्वारेन्टाइनले गर्दा पुष्पको निर्यात ठप्प भएको बताए ।

नेपाल कोल्ड स्टोरेज संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठले विद्युतको महशुल चर्को भएकोले कृषिजन्य उत्पादितद उपजहरुको भण्डार गर्न नसकिरहेकोले कोल्ड स्टोरेज सञ्चालन गर्न कठिन भएको र कृषिजन्य उत्पादनको बीमा सम्बन्धि कानूनी व्यवस्था नभएको हँदा कृषकहरु समस्यामा परेको बताए । त्यसैगरी, नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओमनाथ अधिकारीले मध्ये पहाडी क्षेत्रलाई कफी पकेट जोन घोषण गर्न माग गरेका छन् । अधिकारीले नेपालमा कफीको सम्भावना विभिन्न ठाउँमा रहेका बताउँदै सरकारले त्यसको लागि आवश्यक पहल गर्नु पर्ने बताए । अधिकारीले कफी क्षेत्रको लागि बीमाको व्यवस्था सरकारले गरेपनि बीमा कम्पनीहरुले चासो नदिएका बताए । अधिकारीले सरकारले कफि निर्यातको लागि आवश्यक पहल गर्न सरकारलाई आवश्यक पहल गर्न आग्रह गरे । यस्तै, नेपाल सुपारी उत्पादक तथा व्यवसायी संघका अध्यक्ष देवी प्रसाद खतिवडाले सुपारीको लागि मुख्य बजार भारत रहेकाले सरकारले निर्यातको लागि सहजीकरण गर्न लागि आवश्यक पहल गर्न आग्रह गरे ।

खतिवडाले सुपारीको दाना बाहेक त्यसको पातको दुना टपरी बाहेक अन्य विभिन्न किसिम्मका समाग्री बनाउन सकिने बताए । खतिवडाले आगामी दिनमा सरकारले किसानलाई आवश्यक सहजीकरण गरेर यसको व्यवसायीक खेती तर्फ ल्यौजान आग्रह गरे । नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाले कृषि क्षेत्रको गुणस्तरमा एकरुपता ल्याउन आवश्यक रहेको बताए । केडियाले नेपालमा ल्याबको समस्या रहेको बताउँदै उचित ल्यावको व्यवस्था गर्न आग्रह पनि गरे । केडियाले नेपालबाट कृषिजन्य उपजको निर्यात गर्न प्रमाण्किरण गर्नु पर्ने व्यवस्था भएता पनि त्यसको लागि झनझट रहेको बताउँदै यसका लागि आवश्यक पहल गर्न आग्रह गरे ।

त्यस्तै, कनेक्ट किसानका कार्यकारी निर्देशक राजन दाहालले कृषकलाई प्रविधिसँग जोडेर उत्पादन बढाउनु पर्ने बताउँदै प्रविधि हस्तान्तरणमा सरकारको सक्रियता आवश्यक भएको धारणा राखे । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नरेशलाल श्रेष्ठले कृषि क्षेत्रको हुँदा मात्र समग्र देशको विकास हुने र यसमा महासंघले विशेष ध्यान दिने छ भन्दै हामी सबैको अत्यावश्यक कृषि भएकोले यस भित्र रहेका हरेक समस्या सरकारले चासोका साथ हेर्नु पर्छ भन्ने कुरा बताउँदै उत्पादन बढाउन भूमि बैंकको अवधारणामा जानु पर्ने र बाँझो जग्गा राख्नेहरूलाई कारबाही गर्नु पर्ने बताए । केन्द्रिय सदस्य रविन पुरी, अरनिको राजभण्डारी, पशुपति देव पाण्डेलगायतले पनि कृषि क्षेत्र अत्यन्तै महत्त्वपूर्ण क्षेत्र हो भन्ने कुरा सबैले बुझ्दा बुझ्दै पनि खास काम हुन नसकेको र अहिले पनि अर्बौंको खाद्यान्न बाहिरबाट आयात गर्नु पर्ने अवस्था आउनु अत्यन्तै दु:खद कुरा भएको र यसको जिम्मेवार हामी सबै भएको कुरा बताउँदै आउँदा दिनमा सरोकारवालाहरु सबै मिलि सरकारलाई सम्झाउन र बुझाउन दबाब मुलक कार्यक्रम आवश्यक रहेका जस्ता कुरा राखेका थिए ।

यसैगरी, निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले किसानको हकहितमा आवाज उठाउने सबै संघ / संस्था एक भएर विदेशीएका युवाहरुलाई रोक्न आवश्यक रहेको बताए । घिमिरेले विदेशबाट वर्षेनि अर्बौ रुपैयाँको मल आयात भएको बताउँदै उक्त आयातलाई रोक्नको लागि स्वदेशमा नै केही गर्नु पर्ने सुझाव दिए । नेपाल कत्था संघका अध्यक्ष शिवप्रसाद घिमिरेले निर्वाहमुखी कृषिबाट व्यवसायीमुखी कृषिमा रूपान्तरण गर्नु पर्ने र कृषि उपज ढुवानीका लागि ‘ कृषि नम्बर प्लेट ’ लागू गर्नु पर्ने माग गरे । त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले कृषिसँग आबद्ध संघ / संस्था अध्यक्ष एंव प्रतिनिधिले उठाएका विषयको सम्बोधन गर्न सरकार समक्ष लबिङ गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बस्नेतले कृषि उद्यम केन्द्रले विगतमा पनि किसानका समस्या समाधान गर्न पहल गरेको बताए । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि हेमराज ढकालले अगामी दिनमा किसानका समस्या समाधान गर्न महासंघले कृषि क्षेत्रसँग सम्बन्धीत संघ / संस्थासँग छलफल गरेर अघि बढ्ने बताए । ढकालले सरकारले पनि कृषि क्षेत्रलाई व्यवस्थित नीति तथा कार्यक्रम ल्याएर अघि बढाउनु पर्ने सुझाव दिए ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले डेरी क्षेत्रमा मोही प्रवर्धनका लागि एसोसिएसनले गरेका कार्यक्रमबारे जानकारी दिँदै यसको बजार विस्तारमा सरकारको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा सहभागीलाई मोहीसहितका कृषिजन्य उपहार प्रदान गरिएको थियो । सहभागी सरोकारवालाहरूले कृषि क्षेत्रमा नीतिगत स्पष्टता, प्रविधिको हस्तान्तरण, गुणस्तरीय उत्पादन, बीमा, ल्याव परीक्षण, बजारीकरण र सरकारी सहजीकरणका लागि समन्वित प्रयास अपरिहार्य रहेको साझा धारणा व्यक्त गरे ।

कार्यक्रमका सभापति राजकुमार कार्कीले समापन एवं धन्यवाद राख्दै नेपाल कुचो व्यवसायी संघका अध्यक्ष राजकुमार कार्कीले सहभागीहरूलाई आगामी दिनमा पनि यस्ता बहसात्मक कार्यक्रम निरन्तर गरिने जानकारी दिए । कार्यक्रममा स्वागत मन्तव्य यार्सागुम्बा एसोसिएसनका अध्यक्ष निराजन चलाउनेले स्वागत मन्तव्य राखेका थिए, भने रुराक्ष व्यवसायी संघका अध्यक्ष मनोज चापागाईंले कार्यक्रम संचालन गरेका थिए ।