काठमाडौं-कृषि समस्या समाधानका लागि नेपालमै पहिलोपटक एआईमा आधारित सफ्टवेयर सार्वजनिक भएको छ ।
आईतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महिला विकास समाजले सूचना प्रविधिमार्फत् कृषि व्यवसायलाई सहज बनाउने डिभाइस (आर्टिफिसियल इण्टेलिजेन्स(एआई) ‘साथी’ सार्वजनिक भएको हो । यस डिभाइसले नेपालका किसानहरुले खेतीपाती कार्यक्रममा सामना गर्नुपर्ने विभिन्न किसिमका समस्यालाई कृत्रिम बौद्धिकता (आर्टिफिसियल इण्टेलिजेन्स–एआई) को प्रयोगबाट पहिचान गरी समाधानका लागि पहल गर्न सघाउनेछ ।
महिला विकास समाजकी संयोजक लचना हाडाले परम्परागत प्रविधिलाई पछ्याउने अभ्यासका साथै जलवायु परिवर्तन, माटोको गुणस्तरमा ह्रास, अत्याधुनिक कृषि प्रविधिसम्बन्धी जानकारीको अभाव जस्ता कारण कमजोर बन्दै गएको नेपालको कृषि व्यवसायलाई पुनरुत्थान गर्न तथा किसानलाई सूचना प्रविधि उपलब्ध गराउन सो प्रविधि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार यस डिभाइसबाट अब किसानले आफ्नो बारीको माटोको गुणस्तर, बालीनाली परीक्षणको नतिजा पाउन प्रयोगशाला धाउनुपर्ने बाध्यता हट्ने भएको छ । यो डिभाइस हाल एन्ड्रोइटमा उपलब्ध रहेपनि चाँडै नै आईओएसमा उपलब्ध हुने उहाँले बताउनु भयो ।
उहाँले यो डिभाइसले बालीनालीमा लाग्ने २६ किसिमका रोगको पहिचान गर्ने र धान, मकै, गहुँ, केरा, आलु, गोलभेंडा, जुट र कफिलगायतका २३ किसिमका बालीमा लागेको रोगको पहिचान पनि गर्ने बताउनु भयो ।