पायोनियर एसोशिएटको ‘ १९ औँ वार्षिकोत्सव समारोह तथा ZenithFlow.ERP को भव्य शुभारम्भ ’ सम्पन्न

.

ललितपुर । सहकारी क्षेत्रको डिजिटल रूपान्तरणतर्फ सशक्त कदम नेपालको सहकारी तथा प्रविधि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको पायोनियर एसोशिएट प्रा.लि. ले आफ्नो ‘ १९ औँ वार्षिकोत्सव समारोह तथा नयाँ प्रविधि प्रणाली ZenithFlow.ERP को औपचारिक शुभारम्भ ’ ललितपुरको हरिहरभवनस्थित राष्ट्रिय सहकारी महासंघको हलमा भव्य समारोहका बीच सम्पन्न गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता पायोनियर एसोशिएट प्रा.लि. का प्रबन्ध निर्देशक पायनर के.सी. ले गरेका थिए, भने राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष, संविधान सभा सदस्य तथा ICA बोर्ड सदस्य ओम देवी मल्ल प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिईन् ।

त्यस्तै, उक्त कार्यक्रममा वाग्मती प्रदेश सहकारी संघ लिमिटेडका अध्यक्ष रामशरण शर्मा घिमिरे, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामहरि बजगाई, राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव साथै डिजिटल क्षेत्रका प्रतिष्ठित संस्थाहरूका शीर्ष नेतृत्व – खल्तीका प्रमुख कार्यकारी अधिकृत ( सीईओ ) विनय खड्का, iMark का प्रमुख कार्यकारी अधिकृत ( सीईओ ) राम ढुंगाना, ईसेवाबाट सरोज भुर्तेल, जानकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत ( सीईओ ) मनोज थापा, सिल्भर लाइनिंगका CTO प्रदिप लामिछाने र डिजिटल एजका प्रबन्ध निर्देशक दिव्या दलि, सेन्ट्रल माइक्रो फाइनान्सका पुर्व सीईओ नरेस नेपाललगायत शीर्ष पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो ।

 

उक्त कार्यक्रमको स्वागत मन्तव्य टेक्निकल सल्लाहकार राजकुमार श्रेष्ठबाट प्रस्तुत गरिएको थियो भने, सिनियर अपरेसन म्यानेजर सन्दिप राज भाटले कम्पनीको प्रगति विवरण प्रस्तुत गरेका थिए । भाटले सहकारी क्षेत्रलाई डिजिटल रूपान्तरण गर्न कोसिस सफ्टवेयरमार्फत प्रदान गरिएको सेवा र सुविधाबारे विस्तृत जानकारी दिए । भाटका अनुसार, हाल ४ सय भन्दा बढी सहकारीहरूमा मोबाइल बैंकिङ्ग सेवा, ८ हजार बढी कलेक्टरहरूद्वारा सञ्चालनमा रहेको कलेक्टर एप, सदस्यहरुको घरमै पुगेर बचत जम्मा तथा फिर्ता सेवा दिने, मोबाइल काउन्टर सेवा, १ लाखभन्दा बढी कर्मचारीहरुलाई तालिम, ६३ वटा जिल्लामा सेवा विस्तार र चितवन, दमक, नेपालगञ्ज, बाग्लुङमा शाखा स्थापना जस्ता महत्वपूर्ण उपलब्धिहरू रहेका छन् । कम्पनीले २४/७ ग्राहक सेवा प्रदान गरिरहेको छ । पायोनियर एसोशिएटद्वारा निर्मित कोसिस सफ्टवेयर नेपालकै पहिलो वेब बेस सहकारी सफ्टवेयर हो, जसले सहकारीहरूलाई पूर्णरूपमा डिजिटल बनाउने दिशामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ ।

 

यसै अवसरमा सार्वजनिक गरिएको ZenithFlow.ERP प्रणालीमार्फत कुनै पनि संघ / संस्थाले आफ्नो सम्पूर्ण व्यवस्थापन कार्यहरु एकीकृत तरिकाले डिजिटल माध्यमबाट सञ्चालन गर्न सक्नेछन् । यस प्रणालीमा User Management, CRM, Training Management, Visitors Management, Marketing, Agreement, Project Management, HR & Payroll, Mobile App Support तथा Biometric Device Integration जस्ता अत्याधुनिक सुविधाहरू समावेश गरिएको छ ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामहरि बजगाईले ललितपुर जिल्लामा प्रविधिमा आधारित सहकारी अभियानमा पायोनियर एसोशिएटको साथ रहने प्रतिबद्धता जनाएका छन् । यसैगरी, वाग्मती प्रदेश सहकारी संघ लिमिटेडका अध्यक्ष भने,‘कोसिस सफ्टवेयरले सहकारी क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको छ । यसको गहिरो अनुभव, सेवा र सञ्जालले यसलाई अन्य कम्पनीभन्दा अग्रपंक्तिमा पुर्‍याएको छ ।’ यस्तै, कार्यक्रमको प्रमुख अतिथि ओम देवी मल्लले सहकारी क्षेत्रमा प्रविधिको प्रयोग अपरिहार्य भएको उल्लेख गर्दै पायोनियर एसोशिएटजस्ता कम्पनीहरूले देशलाई डिजिटल भविष्यतर्फ डोर्याइरहेको बताईन् । मल्लले भनिन्,‘प्रविधिको समयानुकूल प्रयोग नगर्दा सहकारी पछाडि परिरहेको छ । अब युवाहरुको सहभागिता बढाएर सहकारीलाई नयाँ प्रविधिमा लैजानु पर्ने समय आएको छ । सहकारीहरूमा अझ प्रविधिमैत्री संरचना आवश्यक छ र ZenithFlow.ERP जस्ता प्रविधिहरूले त्यो चुनौतीलाई समाधान गर्न सक्नेछ । ’ मल्लले सहकारी क्षेत्रका लागि सफ्टवेयर मापदण्ड तय गर्ने प्रक्रिया अगाडि बढिरहेको जानकारी दिँदै अब सहकारी एकीकरण र नयाँ प्रविधिमा रूपान्तरण अपरिहार्य भएको विचार व्यक्त गरिन् ।

 

त्यसैगरी, उक्त कार्यक्रममा १० वर्षभन्दा बढी समयदेखि पायोनियर एसोशिएट प्रा.लि. को सेवा लिँदै आएका ललितपुरको कुपन्डोलमा रहेको सहकारी ऋण कोस बचत तथा ऋण सहकारी लिमिटेड, काभ्रेपलान्चोकको पनौतीमा रहेको नवदुर्गा बचत तथा ऋण सहकारी लिमिटेड, काठमाडौंको धापासीमा रहेको अस्ट सिद्दि बचत तथा ऋण सहकारी लिमिटेड, काठमाडौंकै नयाँ बानेश्वरमा रहेको नक्षेत्र बचत तथा ऋण सहकारी लिमिटेड साथै ५ वर्षभन्दा बढी सहकार्यमा रहेका प्रमुख टेक्निकल पार्टनरहरू – ईसेवा, खल्ती, जानकी टेक्नोलोजी, आइमार्क र सिल्भर लाइनिङ तथा कम्पनीका कर्मचारीहरूलाई विशेष सम्मान प्रदान गरियो ।

 

सम्मान कार्यक्रमले दीर्घकालीन सहकार्य, समर्पण र संस्थाको सफल यात्रामा योगदान पुर्‍याउने सबै पक्षप्रति कृतज्ञता प्रकट गर्‍यो । उक्त कार्यक्रममा सहभागी भएका अतिथिहरू, सहकारी अभियन्ता तथा प्राविधिक प्रतिनिधिहरूले ZenithFlow.ERP को शुभारम्भले कुनै पनि संघ / संस्था तथा सहकारी व्यवस्थापनको भविष्य अझ स्मार्ट, पारदर्शी र परिणाममुखी बन्ने विश्वास व्यक्त गरेका थिए ।