स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल गर्ने काँग्रेसको निर्णय

.

काठमाडौं- नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ ।

 

मंगलवार सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताको आधारमा गठबन्धनका दलहरुसँग तालमेल गर्ने निर्णय गरेको हो । बैठकको निर्णय बारे जानकारी दिदैँ प्रवक्ता प्रकाशशरण महतले कांग्रेसलाई अझ सबल र व्यापक बनाउनका लागि गठबन्धन दलहरुसँग तालमेल गर्ने नितिगत निर्णय सर्वसम्मत् रुपमा गरिएको बताउनुभयो ।

 

उहाँले भन्नुभयो – ‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझ सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नितिगत निर्णय यो बैठक गर्दछ । स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रिया अनुरुप कार्य अगाडी बढाइने छ । यो विषयमा यहाँहरुले पार्टीमा विभाजन छ, दुई धार छ भनिराख्नुभएको थियो । अन्तत्वगत्वा सर्वसम्मतिबाट यो स्थानीय आवश्यकता र अवस्था हेरेर गठबन्धन गर्ने नितिगत निर्णय पार्टीले सर्वसम्मत् बाट गरेको छ ।’

News Agency Nepal