कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको आधुनिकीकरणको परिकल्पनासहित मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ ।
शुक्रवार राष्ट्रिय सभा बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट कृषि उत्पादन र उत्पाकत्व वृद्धिका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभएको हो । उहाँले वाली तथा वस्तु उत्पादनमा यान्त्रीकरण, प्रशोधन र बजारीकरणका लागि आवश्यक पूर्वाधारको व्यवस्था गर्न आर्थिक वर्ष २०७३÷७४ देखि नै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा रहेको बताउनु भयो । कृषि क्षेत्रलाई विज्ञानसँग जोडेर आधुनिक, प्रविधिमैत्री एवं समयसापेक्ष बनाउनका लागि विभिन्न सफ्टवेरयमार्फत कार्य भइरहेको जानकारी दिँदै मन्त्री अधिकारीले किसानले प्राप्त गर्नुपर्ने सेवा प्रणालीलाई प्रभावकारी र पारदर्शी एवं एकद्वार प्रणालीमार्फत कार्यान्वयनका लागि डिजिटल सर्भिस सिष्टममार्फत सेवा प्रवाह भइरहेको बताउनु भयो । उहाँले रसायनिक मलको उपलब्धताका लागि सरल र सहज ढंगबाट जानकारी लिन किसान कल सेन्टर सञ्चालनमा रहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रको आधुनिकीकरणको परिकल्पनासहित स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्न आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको व्यवस्था । बाली र वस्तु उत्पादनमा यान्त्रीकरण, प्रशोधन तथा बजारीकरणका लागि आवश्यक पूर्वाधारको व्यवस्था जस्ता क्रियाकलापमार्फत आर्थिक वर्ष २०७३÷७४ बाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा छ । साथै, साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम कम्तिमा १० हेक्टर, व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम कम्तिमा १०० हेक्टर, व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्र विकास कार्यक्रम (जोन) ५०० हेक्टर र वृहत व्यावसायिक कृषि उत्पादन केन्द्र (सुपर जोन) एक हजार हेक्टर गरी चारवटा सम्वाहकहरुमार्फत परियोजना सञ्चालनमा रहेको छ । भूमीको वैज्ञानिक उपयोग, आधुनिक कृषि प्रविधिहरुको अबलम्बन, कृषिमा यान्त्रीकरण, कृषि उपजहरुको प्रशोधन तथा बजारीकरण, पूर्वाधारहरुको विकास, कृषि अनुसन्धान, शिक्षा प्रसार प्रणालीको सुदृढ समन्वय एवं आधुनिकीकरण, प्रतिफलमा आधारित प्रोत्साहन प्रणालीको अवलम्बन, गुणस्तर नियन्त्रण तथा खाद्य स्वच्छता अभिवृद्धि तथा वातावरण परिवर्तन अनुकुलित कृषि प्रणाली अवलम्बन लगायतका रणनीतिहरु अबलम्बन गरिएको छ । परियोजनाहरुबाट कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि चक्लाबन्दीमा आधारित खेती, पोष्ट हारभेष्ट, क्षति न्यूनिकरण स्थापनामा सहयोग, कस्टम हायरिङ सेन्टर स्थापनामा सहयोग, पशु नस्ल स्रोत केन्द्र साना सिंचाई निर्माण, सिंचाई संरचना निर्माणबाट सिंचित क्षेत्रफल विस्तार, विउ उत्पादन कार्यक्रम, भण्डारण, पूर्वाधार सहयोगजस्ता कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । कृषि क्षेत्रलाई विज्ञानसँग जोडेर आधुनिक, प्रविधिमैत्री एवं समयसापेक्ष बनाउनका लागि विभिन्न सफ्टवेयरमार्फत कार्यहरु भइरहेका छन् । मल वितरण कार्यलाई प्रभावकारी तथा पारदर्शी बनाउन रियल टाइम सफ्टवेयर, विउ विजन उत्पादन, आपूर्ति तथा व्यवस्था पारदर्शी एवं एकद्वार प्रणालीमार्फत कार्यान्वयनका लागि विद्युतीय विउ विजन व्यवस्थापन प्रणाली, प्रयोगशाला सेवा प्रवाह, डिजिटल सर्भिस सिष्टम, खाद्य अनुमति पत्र सेवा प्रवाहलाई सरलीकृति डिजिटल सर्भिस सिष्टम, पशुपंक्षीमा देखापर्ने विभिन्न रोगहरुको तत्काल वा मासिक रिपोर्टिङका लागि राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली, रसायनिक मलको उपलब्धताबारेमा किसानले सरल र सहज ढंगबाट जानकारी लिन किसान कल सेन्टर सञ्चालनमा रहेका छन् । यसैगरी किसान सुचीकरण समेत विद्युतीय सफ्टवेरमार्फत सञ्चालनमा रहेको छ ।’
सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले पशुपंक्षीमा देखापर्ने विभिन्न रोगहरुको तत्काल रिपोर्टिङका लागि राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली र किसान सुचिकरणसमेत विद्युतीय सफ्टवेयरमार्फत सञ्चालनमा रहेको जानकारी दिनुभयो । —न्युज एजेन्सी नेपाल