निर्वाचनका सम्बन्धमा संशय जनाउने अभिव्यक्तिहरु नदिनुस्: निर्वाचन आयोग

.

काठमाडौं -निर्वाचन आयोग नेपालले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरु नदिन राजनीतिक दलका नेता एवं कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।

 

बिहीवार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरु नदिन राजनीतिक दलका नेता एवं कार्यकर्ताहरुलाई आग्रह गरेको हो । पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरु तीव्रताका साथ अन्तिम चरणमा पुगेको अवस्थामा स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरुप्रति आयोगको ध्यानाकर्षण भएको बताउनु भयो ।

 

उहाँले आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाइ सम्पन्न भएको र हाल दैनिक ८ लाख थान मतपत्र छपाइ भइरहेको जानकारी दिनुभयो । प्रवक्ता पौडेलले थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाका लागि १५ दिनको समय दिइ पर्यवेक्षण अनुमतिका लागि गत चैत्र १३ गते सूचना प्रकाशित गरी आवेदन माग गरिएकोमा सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमबाट निवेदन प्राप्त भएको र उक्त निवेदनउपर जाँचबुझ गरी यथाशीघ्र आयोगले पर्यवेक्षण अनुमति सम्बन्धित निर्णय गर्ने बताउनु भयो ।

 

उहाँले निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि र सूचनाको सहज रुपमा जानकारी दिन बिहीवार (आज) बाट हरेक दिन स्थानीय तह निर्वाचन इ बुलेटिन प्रकाशन शुरु गर्ने बताउनु भयो । बुलेटिन आयोगको वेबसाइटमा उपलब्ध हुने पनि उहाँले बताउनु भयो ।

News Agency Nepal