फलफूल बजारमा छैन चहलपहल

.

तिहारको चौथो दिन फलफूल किन्ने ग्राहकहरुको फूलफूल पसलमा भिडभाड हुनुपर्ने हो । तर यसपटक भने फलफूल पसल सुनसान देखिन्छन् ।

जेन जी आन्दोलनका कारण व्यापरमा प्रभाव परेको व्यवसायीहरु बताउँछन् । बागबजारका फलफूल व्यापारी सुनिलकुमार पासवानले गतवर्षहरुमा जस्तो व्यापार यसवर्ष नभएको बताउनुभयो । आन्दोलनका कारण काठमाडौमा मान्छै नै नभएको उहाँको भनाई छ । पहिलेजस्तो चहलपहल नहुँदा व्यापारमा असर परेको उहाँको गुनासो छ ।
उहाँले भन्नुभयो, ‘पहिले काठमाडौमा धेरै मान्छेहरु थियो । व्यापार पनि राम्रो थियो । अहिले आन्दोलनको कारण हाम्रो स्थिति गम्भिर भएको कारण मान्छेहरुको चहलपहल छैन, पहिलेको जस्तो । पहिले त तिहारमा धेरै मान्छेहरुको चहलपहल हुने गथ्र्यो । तर आजभोली हाम्रो बाघबजारको स्थिति धेरै नराम्रो छ ।’ 

सुनिलको जस्तै गुनासो अर्का व्यवसायी सोनु कुमारको पनि छ । उहाँले पनि जेनजी आन्दोलनका कारण तिहारमा व्यापार कम भएको गुनासो गर्नुभयो । मान्छेसँग पैसा नभएका कारण पनि व्यापार सुस्ताएको उहाँको भनाई । उहाँले बजारभाउ पनि पहिले भन्दा केही बढेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आन्दोलनले गर्दा अहिले विजनेश कम भएको छ । मान्छेसंग पैसा छैन ।’ 

व्यापारीहरुले व्यापार नभएको गुनासो गरिरहँदा उपभोक्ताहरुको भने मंहगी बढेको गुनासो छ । फलफूल किन्न आउनुभएकी उर्मिला बस्नेतले अहिलेको धेरै महंगो बढेको बताउनु भयो । पोहोरको भन्दा अहिलेको बजारमूल्य धेरै फरक रहेको उहाँको भनाई छ । उहाँलै तिहारको लागी आवश्यक समानहरु पनि बजारमा नपाईएको गुनासो गर्नुभयो । तिहारमा फूलहरुको धेरै महत्व हुने उल्लेख गर्नुहुँदै उहाँले सयपत्री फूल नै नपाएको बताउनुभयो । उहाँले मंहगी र अभाव दुबै रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सामान्य दिनमा भन्दा अहिले चाडपर्वमा धेरै महंगो छ, सामान । अहिले फूलहरुको धेरै महत्व हुन्छ, सयपत्री फूलै पाईरहेको छैन । हामीहरु फूल नपाएर थोर थोरै किनिरहेका छौँ । त्यही नी धेरै मंहगो छ, सागसब्जी पनि धेरै महंगो छ । पोहोरको भन्दा अहिले धेरै अभाव छ, समानहरु ।’ 

तिहारमा फलफूल, माला, भाईमसला, टोपी लगायत सामाग्रीहरुको किनबेचको लागी बजारमा मानिसहरुको भीडभीड हुने गरेको थियो । तर यसवर्ष भने बजार सुनसान देखिएको छ ।– न्युज एजेन्सी नेपाल