सिंहदरबारमा बढ्यो चहलपहल

.

नेपालको प्रशासकीय केन्द्र सिंहदरबारमा तिहार र छठ पर्वको लामो बिदापछि मङ्गलवारदेखि चहलपहल बढेको छ ।
पर्व मनाउन गाउँघर फर्किएका कर्मचारीहरू काममा फर्किएसँगै सार्वजनिक सेवा प्रवाह नियमित रूपमा शुरु भएको हो । सिंहदरबारका मुख्य सचिवालय, मन्त्रालयहरू र विभिन्न विभागहरूमा बिहानैदेखि कर्मचारीहरूको आवतजावत बढेको देखिन्छ । तिहार पर्वको भाईटीकादेखि छठ पर्वसम्म सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा थियो । तिहारपछि आईतवार एक दिन मात्र कार्यालय खुला भएपनि उक्त दिन सिंहदरबार सुनसान जस्तै थियो । अधिकांश कर्मचारीहरू अझै पर्वको रमझममा व्यस्त रहेकाले उपस्थिति न्युन छ । सोमवार छठ पर्वको सार्वजनिक बिदा परेकाले कार्यालयहरू बन्द रहे ।  तर मङ्गलवारदेखि भने पूर्णरूपमा कार्यालय सञ्चालनमा आएका छन् । सिंहदरबार परिसरमा बिहान १० बजेदेखि नै कर्मचारीहरूको चहल पहल बढेको छ । गेटहरूमा सुरक्षाकर्मीहरूको जाँच, पार्किङ क्षेत्रमा सवारीसाधनहरूको लाइन र कार्यालय भवनहरूमा फाइलहरू बोकेर हिँडडुल गर्ने कर्मचारीहरूको दृश्यले प्रशासकीय गतिविधि फेरि तिब्र भएको संकेत गर्छ । –न्युज एजेन्सी नेपाल