काठमाडौं-नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भईरहेको स्थानीय तहको सिट बाँडफाँडप्रति असन्तुष्टि जनाउनु भएको छ ।
अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दावी लाग्ने सहमती भएपनि सोही अनुसार जिल्ला तहको सिट बाँडफाँड नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको जिल्ला तहको रिर्पोटले आफूहरुलाई उत्साही नबनाएको पनि स्पष्ट पार्नुभयो । महानगरपालिका र उपमहानगरपालिकाको पदहरुको सिट बाँडफाँडले आफूहरु उत्साही भएपनि जिल्लाहरुको रिर्पोटले भने आशावादी नबनाएको अध्यक्ष नेपालको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरुको बाँडफाँड उत्साहवर्द्धक थियो । र यसले राम्रो सन्देश पनि दिएको छ । तर विभिन्न जिल्लाको रिर्पोटहरु सुन्दाखेरी त्यति आशावादी/उत्साही हुने स्थिति छैन । हामीले भनेका थियौ–देशैभरी हाम्रो पार्टीको सञ्जाल छ । हाम्रो पार्टीको संगठन छ । त्यसो हुनाले देशैभरी हाम्रो पार्टीले न्यूनतम रुपमा पनि हाम्रो उपस्थिति हुनैपर्दछ । त्यसैगरी हामीले भनेका थियौ–नेकपा (माओवादी केन्द्र) ले जितेको ठाउँमा सोही पार्टी । नेपाली काँग्रेसले जितेको ठाउँमा काग्रेस, जनता समाजवादीले जितको ठाउँमा सोही पार्टीको उम्मेदवार उठाउनु पर्दछ । त्यसमा आम रुपमा ठिकै छ । तर, नेकपा एमालेले जितेको ठाउँमा पहिलो हक र दावी हाम्रो लाग्नुपर्दछ । कुरो त यसमा ठिकै भएको थियो । त्यस अनुसार काम भएन ।’
अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा नोमिनेशनकै बेला विद्रोही उम्मेदवार उठाएर आफ्नो पार्टीलाई हराउने षडयन्त्र एमालेले गरिरहेको आरोप लगाउनुभयो । केन्द्र सरकार, प्रदेश सरकारबाट हटेको र राष्ट्रियसभा निर्वाचनबाट पछारिएको उल्लेख गर्दै उहाँले एमालेलाई पहिलो शक्ति हुँ भन्ने दम्भ नपाल्न चेतावनी दिनुभयो ।