काठमाडौ-निर्वाचन आयोगले यही वैशाख ११ र १२ गते (भोलि र पर्सी) स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दल र सरोकारवाला निकायलाई अपिल गरेको छ ।
निर्वाचन आयोगले शनिवार गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बैशाख ११ र १२ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म वैशाख ३० गतेदेखि हुने स्थानीय तह निर्वाचनका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी दर्ता गर्न आह्वान गर्नुभएको हो ।
आयोगले निर्वाचनमा योग्यता पुगेका सबै मतदाताहरुलाई रुचाएको पदमा उम्मेदवारी दिनसक्ने वातावरण बनाइदिन पनि सबै राजनीतिक दल, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, आमसञ्चार क्षेत्रलगायत सबै सरोकारवालालाई आग्रह गरेको छ । उम्मेदवारी मनोनयनमा चाप पर्न नदिन दुई दिन उम्मेदवार मनोनयनका लागि समय दिइएको पनि आयोगले स्पष्ट पारेको छ । आयोगका प्रवक्ता पौडेलले २०७४ सालको स्थानीय तह निर्वाचनमा एकैदिन मनोनयन गर्दा अत्याधिक चाप देखिएकाले त्यसो हुन नदिन यो पटक दुई दिनको समय दिनु परेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘वैशाख ११ र १२ गते तोकिएको समयमा १० बजेदेखि १७ बजे भित्र प्रचलित कानून बमोजिम स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेका कुनै पनि व्यक्तिले कुनै पनि समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा तोकिए बमोजिमको प्रक्रिया पूरा गरी उम्मेदवारको मनोनयन गर्न सक्ने भएकाले त्यसबाट उम्मेदवारको मनोनयन प्रक्रिया सहज, सरल र समयमै सम्पन्न हुने विश्वास आयोगले लिएको छ ।
निर्वाचनमा चुन्ने र चुनिने अधिकारलाई उच्च सम्मान गर्दै स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा आ–आफ्नो मनोनयन पत्र दर्ता गर्ने आम नागरिकको नैसर्गिक अधिकार सुनिश्चित गर्न आयोग प्रतिवद्ध रहेको छ । कानूनले तोकेको योग्यता पूरा गर्ने सबै मतदाताले आफूले रुचाएको पदमा उम्मेदवारी दिनसक्ने वातावरण सृजना गरिदिन आयोग सबै राजनीतिक दल, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, आम सञ्चार क्षेत्रलगायत सबै सरोकारवालालाई हार्दिक अपिल गर्दछ । नेपालको संविधानले निर्वाचनमा लैगिक तथा समावेशी सिद्धान्तलाई आत्मसाथ गरी निर्वाचनको सबै पदहरुमा समावेशी प्रतिनिधित्व हुनुपर्ने व्यवस्था अनुरुप आयोगले यसअघि नै निर्वाचनमा भाग लिने सबै राजनीतिक दलहरुलाई १७ बूदे निर्देशन जारी गरिसकेको छ ।
निर्वाचनमा मुलुकको समाजिक प्रतिनिधित्व हुनेगरी सहभागिता र प्रतिनिधित्वका लागि बैशाख ११ र १२ गते हुने उम्मेदवारको मनोनयन दर्ता गर्दा नेपालको संविधानको धारा ३८ को उपधारा ४ मा भएको व्यवस्था अनुसार सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने र धारा ४२ को सामाजिक न्यायको हक कार्यान्वयनमा विशेष संवेदनशील भइदिन आग्रह गर्दै यो निर्वाचन महिला एवम् समावेशी सहभागिता र प्रतिनिधित्वको दृष्टिकोणले उल्लेखनीय हुनेछ भन्ने कुरामा आयोग विश्वस्त रहेको छ ।
स्थानीय तह सदस्यको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयमुक्त बनाउने विशेष जिम्मेवारी निर्वाचनमा भाग लिने राजनीतिक दल तथा उम्मेदवारहरुको हुन्छ भन्ने कुरा निर्विवाद छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहिताप्रति दलहरु आफैले प्रतिवद्धता जनाएकाले त्यसको अक्षरस पालना गर्नेमा आयोग विश्वस्त रहेको छ । राजनीतिक दल र उम्मेदवारले निर्वाचनको बेला गर्न पाउने र नपाउने कार्यहरु स्पष्ट रुपमा उल्लेख गरिएका छन् ।’
निर्वाचन आयोगले पत्रकार भेटघाट कार्यक्रममा वैशाख १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र १७ गते भोलिपल्ट उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगको निर्वाचन कार्यतालिकाबारे पनि स्मरण गराइएको छ ।
स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गराउने विशेष जिम्मेवारी राजनीतिक दल र तिनका उम्मेदवारहरुको रहेको उल्लेख गर्दै आयोगका प्रवक्ता पौडेलले सोही जिम्मेवारी पूरा गर्न उनीहरु समक्ष हुने विश्वास समेत व्यक्त गर्नुभयो । आयोगले नेपालको संविधानले व्यवस्था गरेको महिलाहरुसहितको समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचनमा उम्मेदवारी तय गर्न संवेदनशील भईदिन पनि राजनीतिक दलहरुलाई सचेत गराएको छ ।
आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पनि राजनीतिक दलहरु र तिनका उम्मेदवारहरुको गम्भीर ध्यानाकर्षण गराएको छ । अन्यथा कारबाहीको भागीदार बन्नुपर्ने आयोगका प्रवक्ता पौडेलले बताउनु भयो ।