उम्मेदवारले जुन दलको चुनाव चिह्नमा लड्छ उसको दलीय हैसियत उही: निर्वाचन आयोग

.

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलको चिन्ह लिएर निर्वाचित हुने जनप्रतिनिधिहरु सोही दलको हुने स्पष्ट पार्नु भएको छ ।

 

शनिबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले गठबन्धन भन्ने शब्द स्थानीय तह निर्वाचन कानुनमा नभएको उल्लेख गर्दै दलको चिन्ह लिएर निर्वाचित भएकाहरु सोही दलको जनप्रतिनिधि हुने प्रष्टयाउनु भएको हो । तर, स्वतन्त्र चिन्ह लिएर उम्मेदवार भएकाहरु निर्वाचित भए भने उनीहरु स्वतन्त्र जनप्रतिनिधि नै हुने कानुनी व्यवस्था रहेको समेत उहाँले स्मरण गराउनु भयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नु भयो, ‘हाम्रो स्थानीय तह निर्वाचन सम्बन्धि कानुनमा गठबन्धन भन्ने शब्द छैन ।

 

अव हुँदै नभएको कुरा आयोगले जान्ने कुरा पनि भएन । त्यसकारण हामी के बुझ्दछौं भने–यदि कोही व्यक्तिले कुनै पनि राजनीतिक दलको उम्मेदवारको हकमा त्यो दलले दिएको मनोनयन पत्रको आधारमा उम्मेदवारी दर्ता हुन्छ । अव त्यो उम्मेदवारी दर्ता हुने व्यक्ति त्यो दलको सदस्य हो कि होइन, कहिले प्रवेश गरेको हो, उसको त्यहाँ पार्टीमा के हैसियत छ ? भन्ने विषय आयोगको विषय होईन । त्यसकारण जुन चिन्हबाट ऊ उम्मेदवारी दिन्छ र निर्वाचित हुन्छ । त्यही दलको हो भन्ने निधो हुन्छ ।

 

तर, यदि कोही स्वतन्त्र रुपमा उम्मेदवार भएर स्वतन्त्र चिन्हबाट उसले निर्वाचन जित्यो भने ऊ स्वतन्त्र हुन्छ । कुनै दलबाट निर्वाचित पदाधिकारीले त्यो दल त्याग गरेर अर्को दलमा गएमा वा त्यो दलले गर्नुपर्ने कामभन्दा विपरित कार्य गरेको भनि त्यो दलको केन्द्रिय कमिटीले निर्णय गरेर आयोगमा निजलाई हटाई दिनुप¥यो भनेर आयोगले आवश्यक प्रक्रिया पूरा गरी डकुमेन्ट हेरेर १५ दिन भित्रमा आयोगले त्यो पद रिक्त भएको घोषणा गर्छ ।

News Agency Nepal