स्थानीय तह निर्वाचन: आयोगले आज दल तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने

.

काठमाडौं – निर्वाचन आयोगले आज आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी दल तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने भएको छ । शुक्रबार उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको आयोगले आज चुनाव चिह्न प्रदान गर्न लागेको हो ।

 

 

निर्वाचनका लागि दर्ता भएका दलहरूले आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि आयोगले चिह्न तय गरेर प्रदान गर्नेछ । चुनाव चिह्न पाएसँगै उम्मेदवारहरूले मौन अवधि सुरु हुनअघिसम्म निर्वाचनमा मतकाे लागि प्रचारप्रचार गर्न पाउनेछन् ।

 

 

चुनावका लागि ७९ दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् भने पछिल्लोसमय स्वतन्त्र उम्मेदवारी दिनेको क्रेज पनि त्यत्तिकै बढ्दो छ ।  देशभर सबैभन्दा धेरै नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ ।

 

 

यस्तै, काँग्रेसले ३१ हजार ४२५ तथा माओवादी केन्द्रले २२ हजार २७९ जना उम्मेदवार उठाएको छ ।  माओवादी केन्द्रले २२ हजार २७९ जना उम्मेदवार, एकीकृत समाजवादी पार्टीले ११ हजार ३३० जना उम्मेदवार, जसपाले ९ हजार ४८१ जना उम्मेदवार तथा लोसपाले ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ ।

 

 

स्वतन्त्र उम्मेदवारकाे हैसियतमा भने १२ हजार २२० जनाले आफ्नो मनाेनयन दर्ता गराएका छन् । सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ ।