उपमेयर उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियारमा उजूरी

.

काठमाडौं – स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा नेकपा एमालेको तर्फबाट उपमेयरको उम्मेदवारी दिएकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

 

 

उनीविरुद्ध शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजूरी दर्ता भएको हो। दायर भएको उजूरीमा स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी ५ वर्ष काठमाडौं महानगरको शहरी विकास परियोजनाको सल्लाहकार नियुक्ति लिई तलब सुविधा लिएको आरोप छ। समाजशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्ति कुनै पनि प्राविधिक तर्फको सल्लाहकार हुन नसक्ने उजुरीमा दाबी गरिएको छ।

 

 

‘काठमाडौँ महानगरपालिकामा रहेको शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुन पर्ने निकायमा समाजशास्त्र विषयमा स्नातक गरेको व्यक्ति काठमाडौं महानगरपालिका वडा २१ फसिगाँ बस्ने सत्तु डंगोलकी छोरी सुनिता डंगोलले आफूले प्राप्त नगरेको स्तातकोत्तर योग्यता प्राप्त गरेको छु भनि आफ्नो शैक्षिक योग्यता ढाँटी विगत ५ वर्षदेखि काठमाडौं मनपाको शहरी विकास परियोजनाको सल्लाहकारमा नियुक्त लिइ मासिक रु ८० हजार गैह्र कानुनी रुपमा प्राप्त गर्नु भएको छ’ अख्तियारमा डंगोलविरुद्धको उजुरीमा भनिएको छ। उनको नियुक्तिको सम्पूर्ण फाइल झिकाई कानुनअनुसार सजाय दिन माग गरिएको छ।