काठमाडौं-नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी सञ्चारकर्मी सुनिता डंगोलको चर्चा अहिले काठमाडौंमा धेरै नै छ ।
महिला उम्मेदवार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट उम्मेदवारी पर्नुले पनि उनीप्रति धेरैको चासो देखिएको हुनसक्छ । काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेको तर्फबाट उम्मेदवारी दिनुअघि उनले स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौं महानगरपालिकाको मेयरमा दाबेदारी प्रश्तुत गरेकी थिइन् । त्यसले पनि उनको चर्चा चुलिएको थियो । पछि एकाएक एमालेबाट टिकट पाउनुले उनको चर्चा झनै बढ्यो । त्यसो भनिरहँदा राजनीतिमा आउनुपूर्व पनि उनी चर्चामा नै थिइन् । मिस नेवा २०११ की विजेता भएर पनि उनले चर्चा बटुलेकी थिइन् । साथै सञ्चारकर्मबाट पनि उनले आफ्नो चर्चा कमाएकी थिइन् । उनको परिचय यतिमा मात्रै सिमित छैन । अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन लागि परेकी युवा हुन् ।
उनले नेपालको संस्कृतिलाई विशवमाझ चिनाउने किसिमका कार्यक्रम गर्दै आएकी छन् । उनको चर्चा अहिले फेरि बढेको छ । उनी नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा दाबेदार छिन् । अहिलेको स्थितिमा हरेक पार्टीका लागि बलियो र मुख्य प्रतिद्वन्दी पार्टी एमालेको तर्फबाट देशको राजधानीमा रहेको महानगरपालिकाको उपमेयरमा युवालाई विश्वास गरेर पार्टीले उपप्रमुख जस्तो पदको टिकट दिनुले पनि उनलाई धेरैले चासोसँग हेरेका छन् ।
नेकपा एमालेको तर्फबाट महानगरको मेयरमा भने पूर्व मेयर तथा एमालेका नेता केशव स्थापितले उम्मेदवारी दिनुभएको छ । नेकपा एमालेले महानगरमा जितेको खण्डमा युवापुस्ता र अग्रज पुस्ताहरुबीचको कम्युनिकेशन मिलाउने कुरामा चुनौति छ । त्यसलाई स्थापित र डंगोलले कसरी समन्वय गर्नेछन् भन्ने कुरा यदी जितेको खण्डमा भविष्यमा देखिने नै छ । डंगोल आफैँ पनि आफ्नो पक्षमा स्पष्ट जितका लासिग चाहिने भोट आउनेमा विश्वस्त छिन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले घरदैलो कार्यक्रममा जाँदा राम्रो प्रतिक्रिया आइरहेको बताउनु भयो ।
काठमाडौं महानगरवासीहरुले महिला उपप्रमुखको रुपमा आफूलाई जिताएर महिला हक हीतका कुराहरुलाई बचाउने छन् भन्ने उहाँको विश्वास छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले आफू उपमेयर बनिसकेपछि काठमाडौंमा रहेका सांस्कृतिक सम्पदाहरुको पुनः निर्माणलाई पूरा गर्ने र संस्कृतिहरु नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने कुरामा काम गर्ने बताउनु भयो ।
काठमाडौं देशको राजधानी भएकोले यहाँको पूर्वाधारमा विकास गर्नु आवश्यक रहेको उहाँको बुझाइ छ । काठमाडौंको चिनारी यहाँको भाषा, कला, संस्कृति, जात्रा र पर्व आदि कुराहरुमा अडिएकोले यसलाई संरक्षण गर्न सकेमात्रै काठमाडौंलाई काठमाडौंजस्तो बनाउन सकिने बताउनु भयो । उहाँले काठमाडौंलाई अन्य शहरसँग तुलना गर्न जरुरी नरहेको भन्दै साँच्चीकै कान्तीपुर नगरी बनाउन काठमाडौंलाई पुननिर्माण गरेर यहाँ रहेका मूर्त, अमूर्त सम्पदाहरुलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताउनु भयो ।
काठमाडौंमा रहेको बहाःबहीः मासिँदै गएकोले त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । बहाःबहीःको संरक्षणका लागि अब संवद्र्धन समिति बनाइनु पर्ने बताउनु भयो । उहाँले काठमाडौं उपत्यकाभित्र ४ वटा विश्व सम्पदा सूचिमा सूचिकृत भएका स्थानहरु रहेको र त्यो बाहेक पनि अन्य सांस्कृतिक सम्पदाहरु रहेकोले बाँकी सम्पदाई पनि राष्ट्रिय सम्पदाको रुपमा सूचिकृत गर्नुपर्ने बताउनु भयो । कार्यक्रम मञ्चहरुलाई थप बिस्तार गरेर काठमाडौं महानगरपालिकाले यहाँको संस्कृति, गीत, संगीतका कार्यक्रम आयोजना गरे यसको संवद्र्धन हुने बताउनु भयो ।