नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्यो,‘डेटा टु डिसिजन’ मा जोड

.

राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब पुगेको प्रक्षेपण गरेको छ ।
कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोख्रेलले त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताउनुभएको हो । डा. पोख्रेलकाअनुसार गत आर्थिक वर्षको तुलनामा अर्थतन्त्रको आकारमा करिव ४ खर्बको बढोत्तरी भएको छ । गत वर्षको संशोधित अनुमान ६१.९९ खर्ब रहेकोमा यस वर्ष ६६ खर्ब पुग्ने अनुमान गरिएको छ । यसैगरी आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । तथ्याङ्क सार्वजनिक गर्ने क्रममा डा. पोख्रेलले नतिजालाई विश्वसनीय बनाउन अन्तर्राष्ट्रिय मापदण्डहरूको अवलम्वन गरिएको र नेपाल राष्ट्र बैंकको तथ्याङ्कसँग पनि धेरै हदसम्म मेल खाएको जानकारी दिनुभयो । यसले तथ्याङ्कको क्रेडिबिलिटी र भ्यालिडिटी थप प्रष्ट पारेको उनको भनाइ थियो । अधिकारीकाअनुसार हाल देशभर राष्ट्रिय आर्थिक गणना कार्यक्रम सञ्चालनमा छ । हालसम्म करिव सवा तीन लाख प्रतिष्ठानहरूको गणना सम्पन्न भइसकेको छ । यो कार्य आगामी असार ७ गतेसम्म जारी रहनेछ । उहाँले सबै सरोकारवालाहरूलाई यो गणनामा सहयोग पु¥याउन र प्रचारप्रसार गर्न समेत आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘समग्र राष्ट्रिय अर्थतन्त्रको आकार ६६ खर्ब पुगेको हामीले भन्यौँ । गत वर्षभन्दा ४ खर्ब बढेको छ । ६१.९९ आएको छ अहिले रिभाइज्ड गत वर्षको । र जीडीपी वृद्धिदर ३.८५ छ । अब हाम्रो डेटाबेस्ड मेथोडोलोजी प्रयोग गरेर ग¥यौं भन्दा अघि प्राविधिक साथीहरूले भनिसक्नुभएको छ । र खशसीको कुरा के भन्दाखेरि नेपाल राष्ट्र बैंकले हामीले इन्डिपेन्डेन्ट्ली हाम्रो यो कम्युनिकेसन केही पनि छैन, उनीहरूको र हाम्रो आफ्नो–आफ्नो तरिकाले गरेका छौँ तर नजिक–नजिक छौँ भन्दाखेरि यो हाम्रो क्रेडिबिलिटी अथवा हाम्रो भ्यालिडिटी अलिकति राम्रै हो कि भन्ने आयो । त्यसमा पनि हामी एउटा सन्तोष लिने ठाउँ देखिएको छ । यो त भयो अहिले देखिएको आँकडाको कुराहरू । यो खास गरेर हाम्रो विभिन्न क्षेत्रहरूले त्यसको पर्फर्मेन्स सुधार गर्नको लागि प्रयोग भइदियो भने यसको खासमा त्यहाँ तत्तत् क्षेत्र अथवा तत्तत् सेक्टर सञ्चालन गर्नेहरूलाई यसले फिडब्याक दियो, फिडिङ गर्यो भने यसको उपलब्धि त्यहाँनेर हुन्छ जस्तो लाग्छ । हाम्रो विभिन्न १८ वटा क्षेत्रगत कुराहरू छन् र त्यसको अवस्थाहरू त्यहाँ चित्रण भएका छन् र त्यसमा कहाँनेर के ले गर्दाखेरि यो आँकडाहरू हुन गयो त भन्ने कुराहरू सम्बन्धित ठाउँहरूबाट केलाउने र त्यसको लागि थप इन्टरभेन्सनहरू गर्नुपर्ने हो कि जस्तो हामीलाई लाग्दछ ।’
आगामी बजेट निर्माणको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको यस तथ्याङ्कले सरकारलाई नीति निर्माण र बजेट विनियोजनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । कार्यालयले आफ्ना विभिन्न १८ वटा क्षेत्रगत चित्रणहरू समेत सार्वजनिक गरेको छ । –न्युज एजेन्सी नेपाल