राष्ट्रपति रामचन्द्र पौडेलले बुद्ध दर्शनलाई व्यवहारमा रुपान्तरण गर्न सकेमात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताउनुभएको छ ।
बिहीवार ललितपुरमा आयोजित बौद्ध सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । बुद्धका अहिंसामैत्री, करणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा रुपान्तरण गर्न सकेमा मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुने राष्ट्रपति पौडेलको भनाई थियो । आजको विश्व अनेकन समस्याहरु द्वन्द्व, श्वार्थ परायनता, आदर्श स्खलन, नैतिकताको क्षयीकरण, असहिष्णुता र मानवीय मूल्यहरुको ह्रासबाट प्रताडित भइरहेको उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा बुद्धको उपदेशहरु अझ सान्दर्भिक बन्दै गएको पनि स्पष्ट पार्नुभयो । राष्ट्रपति पौडेलले बुद्धका प्रेरणादायी उपदेश र मागदर्शनको परिपालनाबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सवल बनाउन हामीले सक्नुपर्ने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो,‘शान्तिका दुत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनाबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सदभाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सवल बनाउन हामीले सक्नुपर्दछ । हाम्रो देश नेपालमा जन्मिएका बोधिसत्व सिद्धार्थ गौतम बुद्धले प्रतिपादन गर्नु भएको बुद्ध धर्म तथा बौद्ध दर्शन विश्वव्यापी रुपमा फैलिएको छ । उहाँले देखाउनु भएको चातुर्य, सत्य, र आर्य अष्टांगित मार्गले विश्वका सबै प्राणीहरुको दुःखबाट मुक्तिको बाटो देखाएको छ । आजको विश्व अनेकन समस्याहरु द्वन्द्व, श्वार्थ परायनता, आदर्श स्खलन, नैतिकताको क्षयीकरण, असहिष्णुता र मानवीय मूल्यहरुको ह्रासबाट प्रताडित भइरहेको अवस्थामा बुद्धको उपदेशहरु अझ सान्दर्भिक बन्दै गएका छन् । शान्ति, सहअस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समूदायलाई स्थायित्व सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान दिनसक्छ भन्ने हाम्रो विश्वास छ । हामीले बुद्धका अहिंसा, मैंत्री, करणा र प्रज्ञाका सन्देशलाई व्यहारमा रुपान्तरण गर्न सकेमा मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिन्छ ।’
राष्ट्रपति पौडेलले शान्ति, सहअस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समूदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल