काठमाडौंमा आठौँ डब्ल्यूबीसी मुवाथाई राष्ट्रिय च्याम्पियनसिप ‘ईएफएस फाइट नाइट ८’ आयोजना हुने

.

डब्ल्यूबीसी मुवाथाई नेपालको आयोजनामा आगामी मे १६, २०२६ मा काठमाडौंमा आठौँ डब्ल्यूबीसी मुवाथाई राष्ट्रिय च्याम्पियनसिप ‘ईएफएस फाइट नाइट ८’ आयोजना हुने भएको छ । नेपालमा मुवाथाई खेलको व्यावसायिक विकास, खेलाडीहरूको स्तर वृद्धि र अन्तर्राष्ट्रिय पहुँच पु¥याउने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा कूल ५२ जना खेलाडीहरूले २६ वटा विभिन्न विधामा प्रतिष्पर्धा गर्नेछन् । आयोजककाअनुसार प्रतियोगितामा ६ वटा ‘प्रोफेसनल’ भिडन्त हुनेछन् भने बाँकी खेलहरू एमेच्योर र प्रो–एमेच्योर मुवाथाई नियमअनुसार सञ्चालन गरिनेछ । देशभरका ९ वटा विभिन्न जिमका खेलाडीहरूले यस प्रतियोगितामा आफ्नो कौशल प्रदर्शन गर्नेछन् । प्रतियोगिताको मुख्य स्पर्धा ५८ केजी ‘सुपर फेदरवेट’ विधामा हुनेछ । जसमा ‘इरावन मुवाथाई फाइट जिम’का कर्णबहादुर मग्नाती र ‘जिमखाना पर्फर्मेन्स’का गुमान घर्ती मगरबीच डब्ल्यूबीसी मुवाथाई राष्ट्रिय च्याम्पियनसिप बेल्टका लागि कडा प्रतिष्पर्धा हुनेछ । यस विधाका विजेताले प्रतिष्ठित बेल्टका साथै नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, सह–मुख्य स्पर्धा (को–मेन इभेन्ट) ४८ केजी ‘लाइट फ्लाईवेट’ विधामा नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय भिडन्त हुनेछ । जसमा नेपालकी करिश्मा कार्की र भारतकी पुष्पा आर आमनेसामने हुनेछन् ।
डब्ल्यूबीसी मुवाथाई नेपालका अध्यक्ष राजु राईकाअनुसार, यस प्रतियोगिताले नेपाली मुवाथाईको स्तरलाई विश्वव्यापी मापदण्डमा पु¥याउन र अन्तर्राष्ट्रिय खेल क्षेत्रमा नेपालको उपस्थितिलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।
अगस्ट २७, २०२१ मा स्थापना भएको यस संस्थाले निरन्तर रूपमा मुवाथाई खेलको प्रवद्र्धन गर्दै आइरहेको छ । —न्युज एजेन्सी नेपाल