काठमाडौं उपत्यकाका नदी किनारका सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरूमाथि अहिले धमाधम डोजर चलिरहेको छ । वर्षौंदेखि अनधिकृत रुपमा निर्माण भएका पक्की घर, टहरा र व्यावसायिक भवनहरू भत्काएसँगै नदी किनारको स्वरुप परिवर्तन हुन थालेको छ । सरकारले नदी कोरिडोर सौन्दर्यीकरण योजनाअन्तर्गत यो शाहसी कदम चालेको भन्दै धेरैले समर्थन पनि गरेका छन् । कतिपयले भने नागरिकको उठिवास लगाएको भन्दै विरोध गरेका छन् । विष्णुमती र वागमतीका किनारहरूमा हिजोका दिनमा देखिने बाक्लो उपस्थिति अहिले भग्नावशेषमा परिणत भएको छ । कतिपय स्थानमा स्थानीय बासिन्दा आफैंले सामान सार्दै गरेको देखिन्छ भने कतिपय ठाउँमा सुरक्षाकर्मीको उपस्थितिमा डोजरले अन्तिम रुप दिइरहेको छ । नदीको बहाव क्षेत्र मिचिएका कारण हरेक वर्ष वर्षात्मा आउने बाढीले तल्लो तटीय क्षेत्रमा पार्ने जोखिम कम गर्न यो अभियान कोशेढुङ्गा सावित हुने ठानिएको छ । यद्यपि, यो अभियान पूर्ण रुपमा विवादरहित र सहज भने छैन । कतिपय नागरिकहरू आफ्नै आँखा अगाडि घर भत्किएको टुलुटुलु हेरिरहेका छन् । भग्नावशेषको बीचमा बसेर आफ्नो अनिश्चित भविष्यको चिन्ता गरिरहेका सुकुम्वासी परिवारहरूको कथा झन् मर्मस्पर्शी छ । —न्युज एजेन्सी नेपाल
तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल
















































