अन्तर्राष्ट्रिय मञ्चमा डा. विशाल ढकालको प्रस्तुति, घर–घरमै स्वास्थ्य सेवा विस्तारमा जोड

.

काठमाडौं । नेपालका युवा स्वास्थ्य उद्यमी तथा ‘हेल्थ एट होम’ का संस्थापक डा. विशाल ढकालले घर–घरमै स्वास्थ्य सेवा विस्तारको अवधारणा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेका छन्।

रुसमा आयोजित ‘ओपन डायलोगः द फ्युचर अफ द वर्ल्ड, अ प्लेटफर्म फर ग्लोबल ग्रोथ’ कार्यक्रममा सहभागी हुँदै उनले विकेन्द्रित स्वास्थ्य सेवाको आवश्यकता औंल्याएका हुन्। अप्रिल २८ देखि ३० सम्म सञ्चालन भएको उक्त कार्यक्रममा करिब ५० देशको सहभागिता रहेको थियो भने ४५ देशका प्रतिनिधिहरूले आफ्ना धारणा प्रस्तुत गरेका थिए।

निबन्ध प्रतियोगितामार्फत छनोट भएर सहभागी भएका ढकालले मानव पूँजी, प्रविधि, वातावरण र सञ्चार क्षेत्रमा लगानीका विषयमा भएको छलफलमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। उनले विशेष गरी सार्वजनिक स्वास्थ्यमा नवप्रवर्तन, जनसंख्याको बढ्दो उमेर, र स्वास्थ्य क्षेत्रमा राज्यको खर्च कसरी घटाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर प्रस्तुति दिएका थिए।

ढकालले घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने ‘हेल्थ एट होम’ मोडेललाई दीर्घकालीन समाधानका रूपमा प्रस्तुत गर्दै स्वास्थ्य सेवालाई समुदायस्तरमै विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। उनका अनुसार राज्यले मात्र बढ्दो स्वास्थ्य चुनौती सामना गर्न कठिन हुने भएकाले निजी क्षेत्र र नवप्रवर्तनलाई प्रोत्साहन गर्न आवश्यक छ।

कार्यक्रममा सहभागी विज्ञहरूले नयाँ वैश्विक विकास मोडेलको आधार खोज्ने विषयमा समेत छलफल गरेका थिए। कार्यक्रमबाट प्राप्त निष्कर्षलाई ‘ओपन रिपोर्ट’ का रूपमा आगामी नीति तथा रणनीति निर्माणमा प्रयोग गरिने आयोजकले जनाएको छ।

रुसमै चिकित्सा शिक्षा हासिल गरेका ढकालले त्यहाँस्थित आफ्नो विश्वविद्यालयमा समेत पुगेर अनुभव आदानप्रदान गरेका थिए। उनले नेपालमा कार्यान्वयन भइरहेको ‘हेल्थ एट होम’ मोडेल र आफूले अध्ययन गरेको ज्ञानबीचको सम्बन्धबारे प्रकाश पार्दै स्थानीय आवश्यकताअनुसार नवप्रवर्तन आवश्यक रहेको बताएका थिए।

जनकपुरमा जन्मिएका ढकालले प्रारम्भिक शिक्षा नेपालमै पूरा गरी रुसबाट चिकित्सा अध्ययन गरेका हुन्। पाकिस्तानको लाहोरमा कार्डियाक सर्जरी अध्ययन गर्दै गर्दा उनी नेपाल फर्किएर ‘हेल्थ एट होम’ स्थापना गरेका थिए।

ढकाल यसअघि पनि विभिन्न देशमा आयोजित ग्लोबल इन्टरप्रेनरशिप कार्यक्रममा तीन पटक सहभागी भइसकेका छन्। सन् २०१४ मा अमेरिकाको स्टेट डिपार्टमेन्टबाट फेलोसिप समेत प्राप्त गरेका उनले ३० भन्दा बढी देशको भ्रमण गरिसकेका छन् र पाँचभन्दा बढी भाषामा दक्ष छन्।

ढकालले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै नेपाल नयाँ विचारको स्रोत बन्न सक्ने बताएका छन्।