राष्ट्रिय जनमोर्चाले सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र निर्माण कार्यदल’को कानूनी तथा संवैधानिक योग्यतामाथि प्रश्न उठाएको छ ।
जनमोर्चाले शनिवार संविधान संशोधनबारे अवधारणापत्र सार्वजनिक गर्दै कार्यदलका संयोजक असिम साहको योग्यतामाथी प्रश्न उठाएको हो । सरकारले गठन गरेको कार्यदलको संयोजकमा नियुक्त व्यक्तिको नैतिक चरित्र र संवैधानिक कानूनसम्बन्धी ज्ञानमाथि प्रश्न उठाउँदै जनमोर्चाले साह ‘राजा आऊ देश बचाऊ’ अभियानमा संलग्न रहेको बताएको छ । जनमोर्चाले संविधान संशोधनजस्तो संवेदनशील विषयमा यस्तो पृष्ठभूमि भएका व्यक्तिलाई नेतृत्व दिनु विवादास्पद भएको टिप्पणी गरेको छ । संविधान संशोधन प्रक्रिया व्यापक, प्रजातान्त्रिक र सर्वसहभागितामूलक हुनुपर्ने उल्लेख गर्दै जनमोर्चाले संविधान संशोधनका मुद्दा पहिचान गर्न विज्ञ सम्मिलित टोली गठन, राजनीतिक दलबीच सहमति, जनस्तरमा वृहत छलफल तथा अन्तिममा संसद्मा संशोधन विधेयक दर्ता गर्ने प्रक्रियाबाट अघि बढाउनुपर्ने पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बताउनु भयो । संविधान संशोधन र अनुमोदनको अधिकार सङ्घीय संसद्को भएपनि विभिन्न चरणमा सार्वजनिक तथा राजनीतिक बहस चलाउँदा प्रक्रिया अझ परिपक्व र प्रजातान्त्रिक बन्ने उहाँको ठहर छ ।
उहाँले भन्नुभयो, ‘वर्तमान सरकारले संविधान संशोधन गर्नका लागि ‘संविधान संशोधन वहसपत्र निर्माण कार्यदल’ बनाएको छ । संविधान संशोधनका मुद्दा पहिचान गर्न र संविधानमा संशोधनको प्रक्रियामा सम्पूर्ण जनवर्गलाई सहभागी गराउन संविधान संशोधनका लागि आधार तयार पार्न त्यसलाई कयौं चरणमा अगाडि बढाउन सकिन्छ । संविधानमा संशोधन गर्नुपर्ने मुद्दाको पहिचानका लागि विज्ञ सम्मिलित टोलीको गठन, राजनीतिक दलका विच सहमति कायम गरेर राजनीतिक तथा जनस्तरमा वृहत छलफल गरेर अन्तिममा संविधान संशोधन विधेयक तयार पारेर संसद्को छलफलको विषय बनाउन सकिन्छ । संविधान संशोधन गर्ने र त्यसलाई अनुमोदन गर्ने काम सङ्घीय संसद्को भए पनि विभिन्न चरण र स्तरमा संविधान संशोधनको मुद्दामा छलफल चलाउदा त्यो वृहत र प्रजातान्त्रिक प्रकृतिको बन्छ । त्यसरी प्रजातान्त्रिक तबरबाट बृहत् छलफल गरेर सङ्घीय संसद्मा प्रवेश गरेमा त्यो बढी परिपक्व हुनेछ तर सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र निर्माण कार्यदल’ को संयोजकमा नियुक्त गरिएको व्यक्ति उच्चस्तरको नैतिक चरित्र र संवैधानिक कानुनको क्षेत्रमा उच्च ज्ञान नभएको र ‘राजा आऊ देश बचाऊ’ अभियानमा संलग्न व्यक्ति भएका कारण त्यसले कैयौं प्रश्न र आशङ्का पैदा गरेको छ ।’
जनमोर्चाले संविधान संशोधन प्रक्रियालाई राष्ट्रियता, सार्वभौमसत्ता, गणतन्त्र र लोकतन्त्रको संरक्षणसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएको छ । संविधान मुलुकको मुख्य कानुनी दस्तावेज भएकाले समय, राजनीतिक अवस्था, शक्ति सन्तुलन, जनचेतना र विश्व राजनीतिक परिवर्तनअनुसार संशोधन गर्दै लैजानुपर्ने अवधारणापत्रमा उल्लेख छ । जनमोर्चाले विशेषगरी संविधानमा समावेश गरिएको सङ्घीयतासहितका गलत प्रावधान संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएको छ । सङ्घीय प्रणालीले मुलुकमा प्रशासनिक खर्च बढाएको, राज्य संरचना बोझिलो बनाएको र नेपालको ऐतिहासिक एकात्मक स्वरूपसँग मेल नखाएको जनमोर्चाको दाबी छ । प्रदेश तह खारेज गरी प्रजातान्त्रिक विकेन्द्रिकरणमा आधारित एकात्मक प्रणालीमा फर्किनुपर्ने जनमोर्चाको प्रश्ताव छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था असफल र अधिनायकवादी हुने उल्लेख गर्दै जनमोर्चाले संसदीय प्रधानमन्त्रीय प्रणाली नै नेपालको लागि उपयुक्त हुने जनाएको छ । मिश्रित निर्वाचन प्रणालीलाई नै कायम राख्नुपर्ने जनमोर्चाको सुझाव छ ।
अवधारणापत्रमा संविधान निर्माण वा संशोधन प्रक्रियामा विदेशी शक्तिकेन्द्रहरूले हस्तक्षेप गर्न सक्ने खतरा औँल्याइएको छ । नेपालको संविधान निर्माणका विभिन्न ऐतिहासिक चरणमा भारतलगायत वाह्य शक्तिले दबाब सिर्जना गरेको उल्लेख गर्दै जनमोर्चाले राष्ट्रियता र सार्वभौमसत्ताको रक्षाका लागि गणतन्त्रवादी तथा देशभक्त शक्तिबीच एकता आवश्यक रहेको जनाएको छ । २०४७ सालको संविधान निर्माण, पहिलो र दोस्रो संविधानसभा, १६ बुँदे सहमति तथा २०७२ को संविधान जारी गर्दाका अनुभव उल्लेख गर्दै विदेशी शक्तिले नागरिकता, सङ्घीयता, निर्वाचन क्षेत्र निर्धारण र अन्तर्राष्ट्रिय सन्धिसम्झौतासम्बन्धी विषयमा आफ्नो स्वार्थ थोपर्न खोजेको दाबी अवधारणापत्रमा गरिएको छ । विशेषगरी २०७२ को संविधानमा भारतले राख्न चाहेका केही विषय अस्वीकार गरेकै कारण नेपालले आर्थिक नाकाबन्दी सामना गर्नुपरेको उल्लेख गरिएको छ ।
अवधारणापत्रमा संविधान संशोधनका क्रममा राष्ट्रिय हितविपरित रहेका प्रावधान हटाउनुपर्ने जोड दिइएको छ । जन्मको आधारमा नागरिकता, वैवाहिक अङ्गीकृत नागरिकता, अन्तर्राष्ट्रिय सन्धिसम्झौतासम्बन्धी व्यवस्था तथा जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणजस्ता विषय पुनरावलोकन गर्नुपर्ने जनमोर्चाको भनाई छ । मुख्य संवैधानिक पदमा वंशजको नागरिकता कायम राख्नुपर्ने र अन्य पदाधिकारीका हकमा समेत कडा मापदण्ड आवश्यक औँल्याइएको छ ।
जनमोर्चाले अहिलेको विश्व राजनीतिमा फासिवाद र लोकप्रियतावादको प्रभाव बढिरहेको उल्लेख गर्दै नेपालमा पनि त्यसको असर देखिन थालेको उल्लेख गरेको छ । पुराना दलहरूको भ्रष्टाचार र कुशासनविरुद्ध उठेको असन्तोषलाई उपयोग गरेर अधिनायकवादतर्फ धकेल्ने प्रयास हुनसक्ने भन्दै जनमोर्चाले संविधान संशोधन प्रक्रियामा लोकतन्त्र र गणतन्त्रको सुदृढीकरणलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएको छ ।
जनमोर्चाले राजतन्त्र पुनस्र्थापना र हिन्दु राष्ट्रको मागलाई अस्वीकार गर्ने जनाएको छ । लामो संघर्ष र बलिदानबाट गणतन्त्र स्थापना भएको उल्लेख गर्दै जनमोर्चाले राजतन्त्र फर्काउने प्रयास प्रतिगामी हुने चेतावनी दिएको छ । त्यस्तै, नेपाल बहुधार्मिक मुलुक भएकाले धर्मनिरपेक्षता कायम राख्दै सबै धर्मबीच सहिष्णुता र सद्भाव कायम गर्नुपर्नेमा जोड दिएको छ । – न्युज एजेन्सी नेपाल