नेपाली कम्युनिष्ट पार्टीका नेता लिलामणी पोखरेलले संविधान संसोधन गर्न अहिले उपयुक्त समय नभएको बताउनुभएको छ ।
शनिवार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संविधान संशोधन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय सार्वभौमिकता र जनताले प्राप्त गरेका राजनीतिक उपलब्धिहरू नै संकटमा परेको अवस्थामा संविधान संशोधनको बहस अघि बढाउनु जोखिमपूर्ण हुने बताउनु भयो । वर्तमान परिस्थिति लोकतान्त्रिक शक्तिहरू कमजोर र अधिनायकवादी प्रवृत्ति बलियो बन्दै गएको उल्लेख गर्दै उहाँले संविधान संशोधनको पेन्डोरा बक्स खोल्न नहुनेमा जोड दिनुभयो । पोखरेलले वर्तमान संविधान राजनीतिक दलहरूबीचको सम्झौताबाट बनेको दस्तावेज भएकाले यसमा धेरै अपूर्णता र अन्तरविरोध रहेपनि अहिले संशोधनको समय नभएको जिकिर गर्नुभयो । उहाँले गत वर्षको भदौ २३ र २४ गतेको घटनापछि मुलुकमा देखिएको राजनीतिक घटनाक्रमलाई प्रतिक्रान्तिको संज्ञा दिनुभयो । हाल राष्ट्रियता, वाम आन्दोलन, राजनीतिक दल र जनविश्वास सबै संकटमा परेको उहाँको दाबी छ । प्रतिगामी सोच बोकेको शक्तिको नेतृत्वमा संविधान संशोधन प्रक्रिया अघि बढे उपलब्धिहरू नै गुम्ने खतरा रहेको बताउनुभयो । संशोधन अग्रगमनतर्फ हुनुपर्ने उल्लेख गर्नुहुँदै उहाँले अहिले नेतृत्व गरिरहेको शक्तिको सोच नै प्रतिगामी रहेको दाबी गर्नुभयो । पोखरेलले संविधान परिवर्तनशील र संशोधनयोग्य दस्तावेज भएपनि शक्ति सन्तुलन कमजोर भएको अवस्थामा संशोधन प्रक्रिया अगाडी बढाउँदा राजनीतिक ‘बार्गेनिङ’ मा परिणत हुने खतरा रहेको औल्याउनुभयो । हतारमा संशोधन प्रक्रिया अघि बढाउँदा महत्वपूर्ण संवैधानिक अधिकारहरू कमजोर बन्नसक्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘यो संविधान संसोधनको पेण्डोरा अहिले खोल्ने हो की होइन ? हामीले प्राप्त गरेको संघिय लोकतान्त्रिक गणतन्त्र नै धरापमा परेको स्थिति छ । राष्ट्रिय सार्वभौमिकता धरापमा परेको स्थिति छ, राष्ट्रियता र हामीले प्राप्त गरेको महत्वपुर्ण उपलब्धी नै धरापमा परेको स्थितिमा संविधान संसोधनको बहस उपयुक्त हो त ? भदौको २३ र २४ गतेको घटनापछि मुलुक जुन परिस्थितिमा गएको छ, त्यो हामीले प्राप्त गरेको अधिकारहरुको कुण्ठित प्रतिक्रान्ती हो । यतिबेला राष्ट्रिय सार्वभौमिकताको क्राईसिस छ, नेपाली वामपन्थी आन्दोलनको क्राईसिस छ, पार्टीको आन्दोलन र उपलब्धीहरुको पनि संकट हो यो । हामीले प्राप्त गरेको उपलब्धीहरु बच्ने नबच्ने कुनै ठेगान छैन । पार्टी, नेता, कार्यकर्ता र जनतामा विश्वासको संकट छ, पार्टी एउटै छ, चुनावमा अर्कै चिन्हमा भोट हालेको छ । पार्टी र नेताको सम्बन्धको संकट छ । नेपाली जनताको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनमा संकट छ । यी संकटको स्थितिमा जुन शक्ति जुन माध्यामबाट आजको राज्यसत्ताको वागडोर सम्हालेको छ, त्यो शक्तिको नेतृत्वमा संविधान संसोधनको पेण्डोरा खोल्दिने हो ? यो गम्भिर प्रश्न छ । संसोधन गर्ने भनेको अग्रमगमतर्फ हो । उसको सोच नै प्रतिगमन छ, प्रतिगामी सोच छ । यदपी यसको कारक हामी राजनितिक दलहरु पनि हौँ, राजनितिक दहरुको कमजोरी नभएको भए अहिलेको परिस्थिति पैदा हुँदैन्थ्यो । सिंहदरबार जला भनेर आदेश दिने अहिलेका प्रधानमन्त्री, सिंहदरबारको रक्षा गर्न बसेको सेना विभिन्न रसायनिक वस्तुहरुको प्रयोग गरेर सिंहदरबार जलाउँदा पनि हेर्दैन । अनि कसले के के भुमिका खेलेको थियो भन्ने बारेमा हामीले यसको छिनोफाँनो नगरिकन अहिले हामी संविधान संसोधन गरेर अग्रगामी, प्रगतिशील संविधान बनाउँछौँ भन्ने सोचेर हुन्छ ? हामी त्यो दिशामा होमिने हो त ? जो मान्छे हिजो राजा ल्याउ भन्ने थियो, उही मान्छे सरकारले बनाएको संविधान संसोधन गर्ने आयोगको अध्यक्ष छ । संविधान अपरिवर्तनीय हो भन्नेमा हामी छैनौ । संविधान गतिशील छ । यो संविधान संविधानबादको सिद्धान्तबाट बनेको होईन, फेरि । यो सम्झौताको संविधान हो । राजनितिक दलहरुको बीचमा भएको सम्झौताको संविधान हो, त्यसकारणले यसमा धेरै अन्तरविरोधी कुराहरु छन् । समाजबाद पनि यसैमा छ, बहुलबाद पनि यसैमा छ । बहुलबाद र समाजबाद एकै ठाउँमा बस्छन ? यो विविधताको बीचबाट जे सम्बभ हुन्छ, शक्ति सन्तुलनको स्थितिमा अधिकारहरु स्थापित गर्नुपर्छ भनेर बनाईएको संविधान हो । यतिबेला अहिले अल्पमतमा परेको राजनितिक शक्तिले संविधान संसोधनको पेण्डोरा बक्स खोल्नुहुँदैन । त्यहाँ वार्गेनिङ हुन्छ फेरि । महत्वपूर्ण कुराहरु हामीले लुज गर्नुपर्ने हुन्छ ।’
उहाँले तत्काल संविधान संशोधनको मुद्दा अगाडी नबढाउन राजनितिक दलहरुलाई आग्रह गर्नुभयो । – न्युज एजेन्सी नेपाल
संविधान संशोधन गर्ने यो उपयुक्त समय होइनः नेता पोखरेल