श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र साहको नेपाल–भारत सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री शाहको राजीनामा माग गरेको छ ।
मंगलवार काठमाडौंको शान्तीबाटिकामा खबरदारी सभाको आयोजना गर्दै हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले प्रधानमन्त्री शाहको राजीनामा माग गरेको हो । खबरदारी सभामा बोल्दै नेता सन्तोष राईले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएर सम्पूर्ण नेपाली नागरिकको भावना चोट पु¥याएको आरोप लगाउनु भयो । उहाँले प्रधानमन्त्रीको सीमासम्बन्धी उक्त अभिव्यक्तिले सार्वभौम राष्ट्र नेपालको प्रतिष्ठामा धक्का पुग्नुका साथै स्वाभिमानी नेपाली नागरिकको आत्मसम्मानमा चोट पुगेको भन्दै भत्र्सना गर्नुभयो । राईले काठमाडौं महानगरपालिकाको प्रमुख रहँदा ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राख्ने र प्रधानमन्त्री बनेपछि नेपालको भूमि र सीमासम्बन्धी फरक धारणा सार्वजनिक गर्नु विरोधाभासपूर्ण भएको टिप्पणी गर्नुभयो । उहाँले प्रधानमन्त्री साहको अभव्यिक्ति राष्ट्रिय हित र स्वाभिमानमाथि प्रहार भएको भन्दै सार्वजनिक रूपमा माफी माग्न वा राजीनामा दिन आग्रह समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले सम्मानित सदनमा नेपालले पनि भारतको सीमा मिचेको छ भनि दिएको अभिव्यक्तिको घोर भत्र्सना गर्नको लागि यहाँ आएका छौँ । उहाँलाई सुध्रिनको लागि ध्यानाकर्षण गराउनको लागि पनि हामी यहाँ आएका हौँ । उहाँले सीमासम्बन्धी दिएको अभिव्यक्तिले सारा नेपाली रुष्ट हुनुका साथै सार्वभौम नेपालीको शीर निहुरिएको अवस्था छ । काठमाडौं महानगरको मेयर भएको समयमा ग्रेटर नेपालको नक्शा कार्यकक्षमा राख्ने, अनि प्रधानमन्त्री भइसकेपछि चाँही नेपाल नै भारतलाई बुझाउने जस्तो जुन कुरा गर्नुभएको छ त्यसमा हाम्रो घोर आपत्ति छ । किनभने नेपाल सार्वभौमिक राष्ट्र हो । त्यसकारण सार्वभौम नेपाली नागरिकको प्रतिष्ठा र सम्मानमा उहाँले ठुलो झापड हान्नु भएको छ । उहाँले जुन ठाउँमा यो अभिव्यक्ति दिनुभएको हो त्यही ठाउँमा गएर आम नागयरिकसमक्ष राजीनामा दिनुपर्छ । यदि त्यसो गर्न सक्नुहुन्न भने राजीनामा दिनुपर्छ ।’
प्रधामनमन्त्री शाहले प्रतिनिधि सभाको आईतवारको बैठकलाई सम्बोधन गर्दै भारतले मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको विवादित अभिव्यक्ति दिनुभएको थियो । यही विषयलाई लिएर विपक्षी दलहरुले संघीय संसदको बैठकमा अवरोध गर्दै आएका छन् । –न्युज एजेन्सी नेपाल