सभामुखद्वारा संसदको लोगोअंकित झण्डासहित सगरमाथा आरोहण गर्न सफल सांसद शेर्पाको सम्मान

.

सभामुख डोलप्रसाद अर्यालले संसदको लोगो अंकित झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा ग्याबु शेर्पालाई सम्मान गर्नुभएको छ ।
मंगलवार सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरी सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उहाँलाई सम्मान गर्नुभएको हो । हिमाल आरोहणको क्षेत्रमा नयाँ नयाँ कीर्तिमान कायम गर्दै आउनु भएका सांसद शेर्पाले सभामुख अर्यालकै अनुमतिमा संसदको झण्डासहित उक्त आरोहण गत ज्येष्ठ १३ गते बुधवार विहान ५ बजेर ४० मिनेट जाँदा गर्नुभएको थियो । कार्यक्रममा बोल्दै सांसद शेर्पाले संघीय संसदमा सांसदको रुपमा आएपछि यसको गरिमालाई अझै उच्च बनाउने चाहना बमोजिम आफूले संसदको लागो अंकित झण्डासहित उक्त आरोहणको यात्रा तय गरेको बताउनु भयो । उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालका लागि विश्वलाई चिनाउने गौरव भएको बताउनु भयो । सांसद शेर्पाले नेपालमा रोजगारीको अवसर सिर्जना गर्न पनि उक्त हिमालको ठूलै योगदान रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘संघीय संसदमा आईसकेपछि यसको गरिमालाई संसदको झण्डालाई सगरमाथाको शिखरमा लगेर फहराउने एउटा इच्छा मनमा जाग्यो । र मैले सभामुखज्युलाई रिक्वेष्ट गरेँ । उहाँले सहर्ष स्वीकार गर्नुभयो । र नेपालमा हरेक नेपालीले सगरमाथा हिमाल मात्रै नभएर यो हाम्रो अस्तित्वसँग, गौरवसँग जोडिएको विषय छ । नेपालमा सगरमाथा आरोहणको कुरा होस अथवा क्लाईमेट जेन्जको कुरा होस् । अथवा कुनै दुर्घटनाको कुरा होस् । यो संसारभर समाचार बनेर आउने सिच्युएशन छ । भाग्यबश हामीजस्तो साधारण गाउँबाट आएको मानिसले पनि सगरमाथाले गर्दा यही देशमा बस्ने, थुप्रै रोजगारीको सिर्जना हुने अवसरको रुपमा मैले बुझेको छु ।’
सांसद शेर्पालाई सभामुख अर्यालले नै उक्त आरोेहणका लागि विदाई गर्नुभएको थियो । ३७ वर्षीय सांसद शेर्पा पर्वतारोहण क्षेत्रमा परिचित नाम हो । ‘मिङ्मा डेभिड’ नामले समेत चिनिने उहाँले विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने कान्छो आरोहीको पनि कीर्तिमान पनि बनाउनु भएको छ । उहाँ २०८२ को आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनजाति समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित हुनु भएको थियो । –न्युज एजेन्सी नेपाल