घरायसी सामग्रीदेखि आधुनिक प्रविधिसम्मः अवेरनेस इन्टरनेसनल एकेडेमीका विद्यार्थीको सिर्जनात्मक यात्रा

.

काठमाडौं । “सिक्दै गर्ने” अवधारणालाई व्यवहारमा उतार्दै काठमाडौ महानगरपालिका वार्ड नम्बर ३१ शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) का विद्यार्थीहरूले विज्ञान, प्रविधि र सिर्जनशीलतालाई एउटै मञ्चमा प्रस्तुत गरेका छन् । “कक्षाकोठाभन्दा बाहिरको सिकाइः सिर्जनशीलता, नवप्रवर्तन र खोज” भन्ने स्लोगनका साथ घरायसी सामग्रीदेखि आधुनिक प्रविधिसम्मको प्रयोग गर्दै विद्यार्थीहरूले आफ्ना कल्पना, खोज र आविष्कारलाई वास्तविक परियोजनामा रूपान्तरण गरेका थिए ।

विद्यालयको चौंथो वार्षिक परियोजना प्रदर्शनीमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले विज्ञान, प्रविधि र सिर्जनशीलतालाई एउटै मञ्चमा प्रस्तुत गरेका हुन् ।

विद्यार्थीहरूलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक तथा सिर्जनात्मक शिक्षामा जोड दिने उद्देश्यले विद्यालयले परियोजना प्रदर्शनी आयोजना गरिएको प्रदर्शनीका संयोजक तथा विद्यालयका कार्यकारी निर्देशक शैलेन्द्र झाले बताउनुभयो ।

विद्यालय परिसरमा सम्पन्न कार्यक्रममा विज्ञान, रोबोटिक्स, गणित, सामाजिक अध्ययन, अंग्रेजी, नेपाली, स्वास्थ्य शिक्षा, कम्प्युटर विज्ञान लगायतका विभिन्न विषय समेटिएका परियोजनाहरू प्रदर्शन गरिएको थियो । कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले आफ्नो उमेर र क्षमता अनुसार सक्रिय सहभागिता जनाएका थिए ।

विद्यालयले “सिक्दै गर्ने” अर्थात् सिक्दै गर्ने अवधारणालाई प्राथमिकता दिँदै विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव दिलाउने प्रयास गरेको जनाएको छ । प्रदर्शनीमा साना कक्षाका विद्यार्थीहरूले आफ्नै स्तरअनुसारका सिर्जनात्मक सामग्री निर्माण गरेका थिए भने कक्षा ९ र १० का विद्यार्थीहरूले आधुनिक प्रविधिको प्रयोग गरी नवीन परियोजनाहरू तयार पारेका थिए ।

विशेष रूपमा विद्यार्थीहरूले घरमै उपलब्ध हुने सामग्रीलाई प्रयोग गरी उपयोगी तथा रचनात्मक वस्तुहरू निर्माण गरेका थिए । यसले विद्यार्थीहरूमा समस्या समाधान क्षमता, खोजमूलक सोच तथा नवप्रवर्तनप्रतिको रुचि विकास गर्न सहयोग पुगेको विद्यालयको विश्वास छ ।

कार्यक्रममा अभिभावकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । विद्यार्थीहरूले तयार गरेका परियोजना प्रत्यक्ष अवलोकन गर्दै अभिभावकहरूले उनीहरूको प्रतिभा, मेहनत र उपलब्धिको प्रशंसा गरेका थिए । विद्यालयका कार्यकारी निर्देशक झाले विद्यार्थीहरूको क्षमता अभिभावकसम्म पु-याउने र उनीहरूलाई थप प्रेरित गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो ।

विद्यालयका अनुसार यो चौंथो वार्षिक प्रदर्शनी हो । विगतमा हिउँदमा आयोजना गरिने कार्यक्रम यस वर्ष विद्यालय नयाँ स्थानमा सरेका कारण निर्धारित समयभन्दा अगाडि सम्पन्न गरिएको हो ।

प्रदर्शनीमा विद्यालयका संस्थापक तथा प्राचार्य विष्णुप्रसाद अर्याल, विद्यालयका संस्थापक तथा प्रमुख शिक्षा निर्देशक डा. चेतनाथ कणेल, विद्यालयका संस्थापक तथा शिक्षा निर्देशक कृष्णप्रसाद गैरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद ज्ञवाली, संस्थापक तथा प्रबन्ध निर्देशक विमल घिमिरे, विद्यालयका संस्थापक तथा उपप्राचार्य खगेश्वर गिरीलगायतको सहभागिता रहेको थियो ।