ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ

.

ललितपुर महानगरपालिकाले आफ्नो सेवा प्रवाहलाई थप प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यका साथ ‘एलएमसी ई–चलान’ (डिजिटल जरिवाना व्यवस्थापन प्रणाली) कार्यान्वयनमा ल्याएको छ ।
सोमवार आयोजित एक कार्यक्रमका बीच महानगर प्रमुख चिरिबाबु महर्जनले उक्त प्रणालीको औपचारिक उद्घाटन गर्नुभएको हो । यो प्रणाली लागू भएसँगै अब ट्राफिक नियम उल्लंघन गर्ने वा जथाभाबी पार्किङ गर्नेहरूले जरिवाना तिर्न महानगरको कार्यालयसम्म धाउनुपर्ने झन्झट अन्त्य भएको छ । यसअघि जरिवाना भुक्तानीका लागि पुल्चोकस्थित नगर प्रहरीको कार्यालय पुग्नुपर्ने बाध्यताका कारण सेवाग्राहीको निकै समय खर्च हुने गरेको थियो । अब भने उल्लंघनकर्ताले घटनास्थलमै क्यूआर कोड स्क्यान गरी डिजिटल माध्यमबाट तत्काल जरिवाना भुक्तानी गर्न सक्नेछन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटी बनाउने अभियान अन्तर्गत स्मार्ट स्ट्रिट लाइट र इन्टेलिजेन्ट ट्राफिक लाइटपछि यो अर्को महत्वपूर्ण कदम भएको बताउनु भयो । थ्री लिफ टेक्नोलोजीको प्राविधिक सहयोगमा विकास गरिएको यस प्रणालीलाई कानूनी, प्रशासनिक र राजस्व संकलनका दृष्टिकोणले परीक्षण गरेपछि पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको हो । महानगरकाअनुसार यो प्रणाली सोमवारदेखि नै लागू भइसकेको छ ।
उहाँले भन्नुभयो, ‘पार्किङ जरिवाना तिर्न टाढासम्म जानुपर्ने र पुनः ह्विल लक खोल्न फर्कनुपर्ने बाध्यताले सेवाग्राहीलाई मर्का परिरहेको हामीले महशुस ग¥यौँ । नयाँ प्रणालीले समयको वचत गर्नुका साथै सेवाग्राहीलाई सहजता प्रदान गर्नेछ ।’
नगर प्रहरी प्रमुख सीताराम हाछेथुको सक्रियतामा शुरु गरिएको यो प्रविधिले जरिवाना तिर्ने प्रक्रियालाई छिटो र प्रभावकारी बनाउने विश्वास लिइएको छ । महानगरले आगामी दिनमा अन्य सेवाहरूलाई पनि क्रमशः डिजिटल बनाउँदै लैजाने योजना रहेको जानकारी दिएको छ । –न्युज एजेन्सी नेपाल