नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य जग कृषि र सहकारी हुन् । तर परम्परागत खेती प्रणाली, वित्तीय साक्षरताको कमी र बैंकिङ क्षेत्रको धितोमुखी नीतिका कारण साना किसान सधैँ औपचारिक वित्तीय पहुँचबाट टाढा रहँदै आएका छन् । यही चुनौतीकाबीच हेफर नेपालको अगुवाइमा आयोजना हुन लागेको ‘खेतदेखि वित्तसम्म’ राष्ट्रिय पिचिङ कार्यक्रमले कृषि लगानीमा नयाँ आयाम थप्ने भएको छ । असार ५ गते ललितपुरमा हुन लागेको कार्यक्रममा ग्रामीण महिला उद्यमीहरूले देशका ठूला बैंकका प्रमुखहरू र लगानीकर्ताहरू सामु आफ्ना व्यावसायिक योजना प्रश्तुत गर्दैछन् ।
हेफर इन्टरनेशनल नेपालका व्यवसाय विकास र वित्त पहुँच प्रमुख प्रकाश कटवालले नेपाल सरकारको प्राथमिकता, हेफरको ग्लोबल प्रोग्राम मोडल र दिगो विकास लक्ष्यहरूलाई ध्यानमा राख्दै ‘लगानी’ नामक १० वर्षे कार्यक्रम शुरु गरेको बताउनु भयो । कार्यक्रमले साना किसान, महिला र युवा उद्यमीहरूलाई व्यवसाय प्रवद्र्धनका लागि आवश्यक पुँजी जुटाउँने छ भने ऋण, इक्विटी, डी–रिस्किङ वा प्राविधिक सहयोग जस्ता विभिन्न स्वरूपमा लगानी भित्राउन सहद्योग पुग्ने बताउनु भयो । किसानको राम्रो ब्यबसायिक योजनामा सबै प्रकारको सहयोग जुटाउन हेफर इन्टरनेसनल नेपालले सहयोग गर्ने विकास र वित्त पहुँच प्रमुख प्रकाश कटवालले जानकारी दिनुभयो ।
राष्ट्रिय अभियानको सुरुवात हुन लागेको यस कार्यक्रममा प्रादेशिक स्तरको पिचिङ पश्चात् उत्कृष्ट वित्तीय व्यवस्थापन र व्यावसायिक योजना भएका ७ वटा महिला सहकारीहरू राष्ट्रिय मञ्चका लागि छानिएका छन् । राष्ट्रिय स्तरको कार्यक्रममा छानिनुअघि देशभरका १८ जिल्लाबाट छनोट गरिएका ३० वटा सामाजिक उद्यमी महिला सहकारीलाई लगानी–तयारीका लागि आवश्यक क्षमता विकास तालिम दिइएको थियो । असार ५ गते दाङका समुन्नति र नीलकमल, पाल्पाको गल्धा, कास्कीको प्रतिभा, सर्लाहीको हरिपुर, सिन्धुलीको कमलामाई र नवलपुरको सकलादेवी सहकारीले यस राष्ट्रिय पिचिङमा प्रत्यक्ष सहभागिता जनाउनेछन् ।
राबो फाउण्डेसन र वित्तीय सहजीकरण
यो पिचिङ केवल एक प्रश्तुति मात्र नभई बलियो वित्तीय आधार स्थापना हुने अवसर भएको बताइएको छ । नोभेम्बर २०२५ मा हेफर र राबो फाउण्डेसनबीच भएको सम्झौताअनुसार फाउन्डेसनले ७ लाख ५० हजार डलरको कर्जा ग्यारेन्टी कोष खडा गरेको छ । यसै कोषको जगमा आरएसडिसी लघुवित्त र ग्लोबल आइएमई बैंक लिमिटेडमार्फत साना किसान तथा सहकारीहरूका लागि १ अर्ब १४ करोड रुपैयाँ (७.५ मिलियन डलर) बराबरको सहुलियतपूर्ण कर्जा प्रवाह गरिनेछ । राष्ट्रिय पिचिङमा छनोट भएका ७ वटा सहकारीले यो कर्जा सुविधा पहिलो चरणमै प्राप्त गर्ने अवसर पाउनेछन् ।
वित्तीय साझेदारीबारे प्रमुख कटवालले राबो फाउण्डेसनसँग ७.५ मिलियन डलरको पोर्टफोलियो परिचालन गर्ने गरी समझदारी यसअघि नै भएकोले अहिले छनोट भएका ७ वटा उत्कृष्ट सहकारीहरू कर्जा पहुँच स्थापित हुन सजिलो हुने बताउनु भई साथै यस्तो पहुँच राख्ने यो नै पहिलो समूह हुने बताउनु भयो । आगामी कार्यक्रमहरुमा थप साना किसानदेखि साना तथा मझौला उद्यमहरूलाई पनि समेट्दै यस्ता कार्यक्रमहरू विस्तार गर्ने पनि प्रमुख कटवालले जानकारी दिनुभयो ।

कृषि–इकोसिस्टम र सामाजिक सचेतना
हेफरको यो मोडेलमार्फत उत्पादनदेखि बजारसम्मको पूरै ‘इकोसिस्टम’ लाई जोड्न खोजिएको छ। जसमा कृषक पाठशालादेखि सुरु गरेर उत्पादक (सहकारी), खरिदकर्ता, प्रशोधनकर्ता र निर्यातकर्ताहरूलाई बैंकहरूसँग समन्वय गराइन्छ । लगानी परिचालन गर्दा सामाजिक तथा वातावरणीय सचेतनालाई पनि मुख्य प्राथमिकता दिइएको छ; जस्तै बालश्रमको पूर्ण निषेध, मर्यादित रोजगारी सिर्जना, आम्दानी वृद्धि र वातावरण अनुकूल कृषि अभ्यासहरू ।
इकोसिस्टमले उत्पादनदेखि बजारसम्म जोड्न खोजेको र सहकारीलाई साना किसानको हितमा काम गर्ने र उनीहरूलाई लगानी–योग्य बनाउने गरी कामहरु भैरहेको कटवालले जानकारी दिनुभयो । कृषक पाठशालादेखि शुरु गरेर सहकारी, खरिदकर्ता , प्रशोधनकर्ता र कृषि निर्यातकर्ताहरूलाई समेत बैंकहरूसँग जोडेर आवश्यक वित्तीय सहजीकरण गर्ने काममा हेफर लागिरहेको प्रमुख कटवालले बताउनु भयो । नेपालको ग्रामीण कृषि क्षेत्रलाई परम्परागत निर्वाहमुखी सोचबाट व्यावसायिक र आत्मनिर्भरतातर्फ डो¥याउन यो पिचिङ कार्यक्रम एउटा सकारात्मक प्रस्थानबिन्दु हुनसक्छ । महिला नेतृत्वमा रहेका सहकारीहरूलाई व्यावसायिक रूपमा सबल र बैंकले लगानी गर्न योग्य बनाई औपचारिक बैंकिङ प्रणालीमा ल्याउनाले ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन र दिगो प्रभाव पार्ने देखिन्छ । – न्युज एजेन्सी नेपाल