नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपालमा विचार र दर्शनहरु संकुचित हुँदै फेसबुक र एक्समा सिमित हुन पुगेको बताउनुभएको छ ।
बुधवार आयोजित दर्शनशास्त्रको ईतिहास पुस्तककाृ परिचर्चा कार्यक्रममा उहाँले नेपालमा दर्शनप्रतिको रुचि र बौद्धिक बहस संकटमा परेको बताउनुभएको हो । उहाँले भारतका प्रसिद्ध दार्शनिक तथा लेखक देवीप्रसाद चट्टोपाध्यायको भनाइ स्मरण गर्दै विचार र दर्शनप्रतिको चासो घट्दै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो । चट्टोपाध्यायले ‘भारतलाई दर्शनको सबैभन्दा बढी आवश्यकता भएको बेला नै दर्शनप्रतिको रुचि र बौद्धिक बहसमा खडेरी देखिएको’ उल्लेख गरेको सन्दर्भ प्रस्तुत गर्दै ज्ञवालीले नेपालमा पनि यस्तै अवस्था देखिन थालेको बताउनु भयो । नेपालमा दर्शन, वैचारिक बहस तथा सैद्धान्तिक–नीतिगत प्रश्नहरू क्रमशः साँघुरिँदै गएको उहाँको भनाई छ । सामाजिक सञ्जालका छोटा पोस्ट, ट्विट र सीमित शब्दका अभिव्यक्तिमा विचारहरू खुम्चिँदै गएको उहाँले बताउनुभयो । समाजको मुक्ति र देशको विकास विचार, संस्था वा प्रणालीबाट नभई कुनै ‘तारणहार’ व्यक्तिबाट सम्भव हुने भाष्य नेपालमा निर्माण गर्न खोजिएको उहाँको आरोप छ ।
उहाँले भन्नुभयो, ‘भारतको एकजना विख्यात दर्शनका ज्ञाता र लेखक हुनुहुन्छ, देवीप्रसाद चट्टोपाध्याय । उहाँले धेरै वर्ष अगाडि एउटा सन्दर्भमा भन्नुभएको थियो, आज भारतलाई जति बेला दर्शनको सबैभन्दा बढी खाँचो छ, दुर्भाग्यवश यति नै बेला दर्शनप्रतिको रुचि, दर्शनको मीमांसा, दर्शनप्रतिको एउटा आकर्षण या त्यस सम्बन्धी क्रियाकलापहरूको एकदमै ठूलो खडेरी देखिन लागेको छ, उहाँले भन्नुभएको थियो । त्यही कुरालाई साभार गर्दै नेपालको हकमा पनि आज दर्शन र समग्र वैचारिक प्रश्नहरूमा सैद्धान्तिक नीतिगत प्रश्नहरूमा बहस झन् झन् झन् साँगुरिदै गएको छ । विचारहरू २४० क्यारेक्टरको टेक्स्टको पोस्टमा ट्विटमा या केही सय वर्डको फेसबुकका टेक्स्टहरूमा, पोस्टहरूमा साँगुरिदै गइरहेको छ । यहाँ यस्तो वातावरण बनाइँदैछ कि समाजको मुक्ति या देशको विकास कुनै विचारले गर्ने होइन, कुनै संस्थाले गर्ने होइन, त्यसका लागि कुनै प्रणाली चाहिँदैन, बस कुनै एउटा अद्भुत व्यक्ति आउँछ, कुनै तारणहार आउँछ, तिमीहरूका दुःखको मुक्तिका लागि र उसले चुट्कीको भरमा समस्याको समाधान गर्छ भन्ने ढंगले संस्थाहरूलाई मार्दै र एउटा व्यक्ति अथवा केही व्यक्तिहरूको लोकप्रियतातिर मुलुकलाई धकेल्दै लगेको अहिलेको परिस्थिति छ ।’
उहाँले नेपालमा पपुलिजम, अराजकतावाद र चरम दक्षिणपन्थी प्रवृत्तिको हावी भएको पनि दाबी गर्नुभयो । राष्ट्रियता, लोकतान्त्रिक अधिकार, मानवअधिकार र खुला राजनीतिक स्पेसमाथि संकट बढ्दै गएको उहाँले बताउनु भयो । वर्तमान सरकार निर्वाचित अधिनायकवादतर्फ उन्मुख हुँदै गएको उहाँको भनाई छ । ट्रेड युनियनका अधिकार खोसिएको, विद्यार्थी आन्दोलनले पञ्चायतकालमा प्राप्त गरेका अधिकारहरू कटौती गरिएको तथा विभिन्न माध्यमबाट नागरिकलाई त्रसित बनाउने प्रयास भइरहेको उहाँले आरोप लगाउनु भयो । सुकुम्बासीहरूको समस्या झन् जटिल बन्दै गएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मुलुक असामान्य अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको छ । एकै साथ हाम्रो राष्ट्रियताको आन्दोलन, हामीले बडो दुख गरेर प्राप्त गरेका लोकतान्त्रिक अधिकार, मानवअधिकार र खुला स्पेस र त्यसको केन्द्रमा वामपन्थी आन्दोलन माथि एकदमै ठूलो संकट उत्पन्न भइरहेको छ । पपुलिजम, अनार्किजम र चरम दक्षिणपन्थको जगमा एउटा निर्वाचित अधिनायकवाद तिर सरकार गईरहेको छ, हेर्दा निर्वाचित हो, पपुलर भोटबाट आएको हो तर उसको यो सत्ताको समग्र व्यवहार एउटा अधिनायकवाद तिर छ, ट्रेड युनियन अधिकार खोसिएको छ, विद्यार्थीको २१ सालमा पञ्चायतसँग प्राप्त गरेका अधिकारहरू खोसिएको छ, अरु विभिन्न ढंगले तर्साईएको छ, सुकुम्बासीहरूको बिजोग हामीले देखिनै रहेका छौँ । यो स्थितिभित्र मुलुक एउटा असाधारण संकट तिर बढ्दै गएको हुनाले हामीलाई चाहिँ नयाँ ढंगले देशभक्त शक्तिहरू, प्रगतिशील शक्तिहरू र लोकतान्त्रिक शक्तिहरू नजिकिनुपर्ने आवश्यकता बोध भएको छ ।’
उहाँले देशभक्त, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूबीच नयाँ ढंगले सहकार्य र निकटता आवश्यक रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल