सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल

.

नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद मिनासिंह रखालले अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्न सरकारलाई सुझाव दिनुभएको छ ।
शुक्रवार राष्ट्रिय सभा बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले उक्त सुझाव दिनुभएको हो । सरकारले तालिम र गोष्ठीको नाममा विनियोजन गरेको बजेट किसानहरुको राहत दिने लगायतका उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सांसद रखालको भनाई थियो । उहाँले साधारण खर्च कटौति गर्न र किसानहरुको हित प्रवद्र्धन हुने क्षेत्रमा  बजेट केन्द्रित गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।
सांसद रखालले भन्नुभयो,‘किसान असुरक्षित छन् । यस्तो अवस्थामा तालिक र गोष्ठीमा बजेट खर्च गर्नु भन्दा पीडितलाई राहत, क्षतिपूर्ति, रोकथाम, संरक्षण र किसानहरुको उचित व्यवस्थापनमा बजेट केन्द्रित गर्नु आवश्यक छ । त्यसैले अनुत्पादक प्रशासनिक खर्च घटाई जनतामुखि बजेट विनियोजन गरियोस् । सरकारले साधारण खर्च कटौति गर्ने दाबी गरेको छ । तर यर्थाथमा चालु खर्च अझै उच्च छ । किसानको उत्थानका कार्यक्रमहरु विगतको भन्दा पनि कम प्राथमिकतामा परेका छन । सरकारले रोजगारीको अवसर सृजना हुने गरी कुनैपनि कार्यक्रम ल्याएको छैन ।’
सांसद रखालले सरकारले  रोजगारीको अवसर सृजना हुने क्षेत्रमा कुनैपनि खालको कार्यक्रम ल्याउन नसकेको जिकिर पनि गर्नुभयो ।–न्युज एजेन्सी नेपाल